बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित बर्गदही गाउँ नजिकै नेपाल सरकारको नाममा रहेको ऐलानी प्रति जग्गाको माटो जथाभाबी निकालेर बिक्री वितरण भइरहेको छ ।
माटो निकालेर गहिरो खाल्डो बनेपछि स्थानीय बासिन्दाले संलग्नलाई कारबाही गरी तत्काल माटो निकाल्ने कार्य रोकिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको ध्यानाकर्षण गराएका छन् । पूर्व वडाध्यक्ष अति उल्ला खाँले नेपालगन्ज–गुलरिया चार लेन सडक निर्माणको समयमा समेत माटो नझिकिएको सो स्थानमा जथाभाबी माटो निकाल्दा बर्षायाममा डुबानको जोखिम बढेको बताउनुभयो ।
दैनिक २ वटा एक्स्काभेटर र १५।१५ वटा टिप्परको प्रयोग गरी सरकारी जग्गाको माटो निकाली नजिकै निर्माण भइरहेको बिस्कुट उद्योगमा प्रयोग गरिएको स्थानीय बासिन्दाले जनाएका छन् ।
यसैबिच स्थानीय बासिन्दाले सरकारी ऐलानी जग्गाको माटो निकाल्ने कार्य तत्काल बन्द गर्न र संलग्नलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा उजुरी दायर गरेका छन् ।