काठमाडौँ । सांसदले पाथिभारा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गर्नुभएको छ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उहाँहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
“सरकार किन अनदेखा गरेको ? मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको”, सांसद लिङ्देनले भन्नुभयो, “सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो।”
अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै उहाँले जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको र प्रतिकारमा उत्रिएको जानकारी गराउनुभयो।
उहाँले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको कार्यकक्षमा दुव्र्यवहार गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद तारा लामाले कञ्चनपुरको बेलडाँडीमा बस्ती हटाउने नाममा स्थानीय प्रशासनबाट जनता घाइते भएको आरोप लगाउँदै घाइतेको उपचार गर्न र दोषीमाथी कारवाही गर्न सरकारसँग माग गर्नुभयो।