काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्नेहरुमा अधिकांश नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पक्षधर छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटस्थहरु पनि राजीनामा मागिरहेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा देखि महाभियोग लगाउने सम्मको प्रयासहरुमा आफू संलग्न नभएको स्पष्ट पारेका छन् । तर, उनले राजीनामाको विषय उठाउने हो भने चोलेन्द्रको मात्र नभई दिपकुमार कार्की, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको राजीनामा आउनुपर्ने बताएका छन् । यी पाँचजनाको इजलासले ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गर्दा असंवैधानिक ठहर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।
नेपाल बार एशोशिएसनले जबराको राजीनामा मागेको छ । उसले मङ्गलबार विज्ञप्ति नै जारी गरेर राजीनामा मागेको हो । बार सल्लाहकार समितिले पनि राजीनामा मागेको छ । कल्याण श्रेष्ठ, सुशिला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्मा गरी चारजना पूर्व प्रधानन्यायाधीशहरुले पनि राजीनामा मागेका छन् । केही पूर्वन्यायाधीशले पनि राजीनामा मागेका छन् । तर, अधिकांश पूर्वप्रधानन्यायाधीशले जबराको राजीनामा मागेका छैनन् । प्रधानन्यायाधीशहरु हरिप्रसाद शर्मा, गोपालप्रसाद पराजुलीलगायत यो मामलामा मौन छन् ।
ओलीले अदालतमा अहिले विकसित घटनालाई राजनीतिक दाउपेच र अशोभनीय गुटबन्दीको संज्ञा दिँदै खिचातानीमा नपर्ने बताए । हामीलाई अदालतको राजनीतिक दाउपेच, अशोभनीय गुटबन्दी र खिचातानीमा पर्नु छैन, ओलीले प्रेस चौतारी मोरङले मङ्गलबार आयोजना गरेको कार्यक्रममा भने, न्यायाधीशलाई न्यायाधीशको आसनमा बसेर न्याय निरुपण गर्न त अदालतको श्रीमान्ज्यूहरुले नै नदिएको होइन र ?