काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भयो ।
सोमबारदेखि लामिछाने लगायत अदालतमा पेश भएका आरोपितहरूको बयान सुरु भएको छ । गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा उनको मुद्दा परेको छ ।
न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् । २०४७ भदौमा जन्मिएका उनी अहिले ३५ वर्षका मात्रै भए ।
देशभर २८२ जिल्ला न्यायधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा छन् । उनी गत असारमा मात्रै लिखित परिक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् ।
त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक राई पनि थिए ।
४२ जिल्ला न्यायाधीश छनोटका लागि भएको लिखित परीक्षामा १२ जना पास
कानुनमा स्नातकोत्तर (एलएलएम) उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै न्यायसेवाको अधिकृत भएका उनी आठ वर्षको सेवा अवधिमै न्यायाधीशमा उत्तीर्ण भएका हुन् ।
रविसँगै अब सबै आरोपितहरूको त्यही इजलासमै बयान हुनेछ, अनि राईकै इजलासले उनीहरूको प्रारम्भिक सुनुवाइ गरी थुन्ने वा छाड्ने भन्ने आदेश गर्नेछ ।