चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

36 Shares

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ। आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सहमत भएका छन्।

हवाई टिकट महँगो भएको गुनासो आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले चासो देखाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतामा भाडादर घटाउने पहल भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति जनाएका हुन्।

क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार अब वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्रीवितरण गर्न सक्नेछन्। साथै, उपलब्ध सस्तो भाडादरबारे सम्बन्धित कम्पनीका बिक्रीवितरण प्लेटफर्ममा समेत सूचना प्रकाशित गर्नुपर्नेछ।

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने र त्यसैको मौका छोपेर हवाई भाडा बढाइएको गुनासो बढेपछि सरकारले वायुसेवा कम्पनीसँग छलफल गरी भाडा घटाउने वातावरण बनाएको हो।

सम्बन्धित समाचार