ललितपुर । नेपाल तेक्वान्दो संघको केन्द्रीय अधिवेशन नजिकिँदै गर्दा जिल्ला स्तरको अधिवेशन सम्पन्न हुँदै गइरहेको छ । सोही क्रममा ललितपुर जिल्ला तेक्वान्दो संघको पनि अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।
ललितपुर जिल्ला अधिवेशनले दिल महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा अध्यक्ष दिल महर्जन, उपाध्यक्ष शरण महर्जन, सचिव नविना ब’ढाथोकी मगर, कोषाध्यक्ष प्रकाश महर्जन र सदस्यहरुमा सन्तोष गजुरेल, रजिन सिं, थानेश्वर दर्लामी मगर, शिवहरि बुढाथोकी र सिर्जन महर्जन रहेका छन् । नव कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै कार्य सफलताको कामना प्रमुख अतिथि ललितपुर तेक्वान्दो संघका विशेष सल्लाहकार जितेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।
सो कार्यसमितिले आगामी दिनमा विकास, अनुशासन र गतिशिलताको नारालाई सार्थक र सरल बनाउन सधैं क्रियाशिल रहने अध्यक्ष महर्जनले खोजतलासलाई जानकारी गराएका छन् । खेल आत्मरक्षा र मनोरञ्जनको लागि खेलिने मात्र नभई खेलकुदमार्फत् नै अन्तर्राष्ट्रियस्तरमा देशको नाम राख्ने उद्देश्यले खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष महर्जन बताउँछन् ।
नेपालमा कछुवा गतिमा विकास हुँदै गइरहेको खेलकुद क्षेत्रमा पछिल्लो समय खेलकुद क्षेत्रमा लागेर खेलाडीहरुले खेलेर र खेलाएर बाँच्न सक्ने आधारहरु बन्दै गई व्यवसायीकरणतिर उन्मुख हुँदै गइरहेको अध्यक्ष महर्जनको भनाई रहेको छ ।
ललितपुर तेक्वान्दो संघको जिम्मेवारी लिएका अध्यक्ष महर्जनले अघिल्लो कार्यकालमा भएका राम्रा कार्यहरुलाई निरन्तरता दिँदै तेक्वान्दो खेललाई चलायमान बनाउनुका साथै अन्य गतिविधिहरु रक्तदान, खेलकुदसम्बन्धी जनचेतनामूकल कार्यक्रमहरु गर्दै जाने उद्देश्य रहेको अध्यक्ष महर्जन बताउँछन् ।
ललितपुर जिल्लाले तेक्वान्दोमा अन्तर्राष्ट्रियस्तरका धेरै खेलाडीहरु उत्पादन गरी ती खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो खेल प्रदर्शन गरी पदक हासिल गर्दै नेपालको नाम विश्वसामु राख्न सफल समेत बनिसकेको अवस्थामा आब आफ्नो कार्यकालमा पनि अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी नेपाललाई विश्वसामु चिनाउने उद्देश्यका साथ आफू दत्तचित्त भएर लागिपर्ने अध्यक्ष महर्जनले कुराकानीको क्रममा बताएका छन् ।
ललितपुर जिल्लालाई तेक्वान्दोमय बनाउनका लागि आफूले धेरै गर्नुपर्ने छ । दोस्रो कर्णालीको रुपमा हेरिने दक्षिण ललितपुरमा तेक्वान्दो खेल विस्तार गर्न आफूले हरसम्भव मेहनत गरी त्यस्ता क्षेत्रमा तेक्वान्दो खेल विस्तार गर्नुका साथै प्रतियोगिताहरु गरी तेक्वान्दो खेलप्रति आकर्षण गराउनु आफ्नो उद्देश्य रहेको महर्जन बताउँछन् ।
आफ्नो कार्यकालमा ललितपुर जिल्लालाई तेक्वान्दामय बनाउन जिल्लास्तरका प्रतियोगिताहरु दोस्रो कर्णालीका रुपमा रहेको ललितपुरको दक्षिणी ग्रामीण भेगमा गर्दै लैजाने, जिल्ला कार्य समितिको लागि भवन निर्माण तथा जग्गाका लागि सम्बन्धित निकायमा पहल गर्न हाम्रो नयाँ कार्यसमिति लागिपर्ने अध्यक्ष महर्जनले बताएका छन् ।
तेक्वान्दो विकासका लागि ललितपुर जिल्लामा भएका डोजाङ, विभिन्न स्कुलमा प्रशिक्षण दिने प्रमुखको स्वास्थ्य विमाका लागि सम्बन्धित निकायमा पहल गर्ने, डोजाङ तथा स्कुलहरुको प्रमुखको सर—सल्लाहमा जिल्लाको तेक्वान्दो खेल विकासका लागि भावि कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने, प्रत्येक वर्ष डोजाङ तथा स्कुल प्रमुखहरुको भेलाको आयोजना गर्ने, तेक्वान्दो खेल विकासका लागि आवश्यकता अनुसार उप—कमिटिहरु गठन गर्ने र आर्थिक हिसाव किताव चुस्त र दुरुस्त राख्ने, आवश्यकता अनुसार तेक्वान्दोको पुम्से र गेरोगी सेमिनारहरु गर्दै लैजाने योजना बनाएको अध्यक्ष महर्जनले खोजतलासलाई जानकारी गराएका छन् ।