चार महिनामा चार सय सतहत्तर फर्किए बन्द बाकसमा

11.6k Shares

काठमाडौँ। विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको अवस्थामा त्यसको पीडादायी पाटो बेग्लै छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अकालमै निधन भएर बन्द बाकसमा फर्कने गरेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ४७७ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या चार महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो ।  बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषको १८ करोड १५ लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् । 

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको हो । तथ्याङ्क अनुसार दैनिक औसतमा चार वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । 

बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा यसअघि सात लाख रुपियाँ आर्थिक सहायता दिँदै आएकोमा हाल वृद्धि गरेर १० लाख पुर्‍याएको छ । यसै गरी यो अवधिमा रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका १७४ श्रमिकले पाँच करोड ६३ लाख रुपियाँ आर्थिक सहायता पाएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको कात्तिकसम्म १३ हजार ८२३ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा साउदी अरब, कतार र मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गुमाएका छन् । 

चालु आवको चार महिनामा दुई लाख ४२ हजार ५८३ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरूले पठाएको विप्रेषण करिब छ खर्ब विप्रेषण भित्रिएको हिसाब भइरहेको छ । 

मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता लिनेको सङ्ख्या वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक उप्रेतीले भनाइ छ ।रोजगारीका लागि विदेश जाने १८ देखि ४५ वर्ष उमेर समूहको मृत्युदरलाई आधार मानेर नेपालमा सोही उमेर समूहका युवाको मृत्यु हुने गरेको छ भन्ने अध्ययन भएको छैन ।

श्रम तथा आप्रवासनका विज्ञ रामेश्वर नेपालले हाल विदेशमा मृत्यु भएका श्रमिकको तथ्याङ्क स्वाभाविक नभएको बताउनुभयो । वैदेशिक रोजगारीका क्रममा अधिकांश मुत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटना, सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् ।  

सम्बन्धित समाचार