काठमाडौँ - अमेरिकाको राष्ट्रपतीय निर्वाचनको दौडमा रहनु भएका कमला ह्यारिस र डोनाल्ड ट्रम्प आज अन्तिम चुनावी अभियानमा सहभागी हुँदै छन् ।
केही दिनदेखि मतदाता र तिनको भोट अनिश्चित रहेका राज्यहरुमा चुनावी अभियानलाई निरन्तरता दिइरहेका दुबै उम्मेदवारहरु अन्तिम दिनको चुनावी दौडमा पनि ती राज्यहरुमा केन्द्रित भइरहेका छन् ।
अमेरिकी नागरिकले आफ्नो आगामी राष्ट्रपतिको चयन गर्नुअघि आज राति ह्यारिस र ट्रम्पले आफ्ना मतदाताहरुलाई अन्तिम सन्देशमार्फत सम्बोधन गर्ने छन् ।
वर्तमान उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले आज पेन्सिलभेनियामा अन्तिम चुनावी सभालाई सम्बोधन गर्दैछन् ।
भुतपूर्व राष्ट्रपति समेत रहेका अर्का उम्मेदवार रिपब्लिकन नेता डोनाल्ड ट्रम्प पेन्सिलभेनियासहित क्यारोलिना र मिचिगन राज्यहरुमा जाने भएका छन् ।
यसैबीच, साढे सात करोड अमेरिकीले अग्रिम रुपमा मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ । अमेरिकामा नोभेम्बर ५ तारिख अर्थात भोलि मुख्य निर्वाचन हुँदैछ । अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई मतका आधारमा ‘इलेक्टोरल कलेज’ भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्ने व्यवस्था छ । आजको राजधानी दैनिकबाट