कल सेन्टरका नाममा क्रिप्टो कारोबार गर्ने ५० जना पक्राउ

13.8k Shares

काठमाडौं । कल सेन्टरको आवरणमा डिजिटल वालेटमा डलर जम्मा गर्न लगाई क्रिप्टो करेन्सीको अवैध कारोबार गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई पक्राउ गरेको छ ।

सीआईबीले छापा मारेर क्रिप्टो कारोबारदेखि अनलाइन जुवा खेलेको आरोपमा दुई चिनियाँ र एक फिलिपिन्स नागरिकसहित ५० जनालाई पक्राउ गरेको हो । सो कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको थियो ।

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले छापा मारेर दुई चिनियाँ र एक फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरिएकामा आठ जनामाथि मुद्दा दायर भएको बताए । पक्राउ पर्नेमा एक जना फिलिपिनोसहित पाँच जना महिला छन् ।

चिनियाँले सञ्चालन गरेको सो कल सेन्टरमार्फत आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको छ ।

एसपी बोगटीका अनुसार नियन्त्रणमा लिएकाहरूमध्येबाट ठगी र क्रिप्टो कारोबार गर्नेहरू आठ जनालाई मात्र मुद्दा चलाइनेछ ।

स्क्रिनिङका क्रममा आठ जनाको प्रत्यक्ष संलग्नता भेटिएपछि उनीहरूविरुद्ध प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता एसपी बोगटीका अनुसार पक्राउपछि मुद्दा दायर भएकाहरूमा चिनियाँ नागरिक डिङ जिआहोङ, लिन क्विजिङ, फिलिपिन्सका महिला नागरिक हानिपा सिन्सुआत र नेपाली नागरिकहरू रौतहटका कमल कँडेल, इलामका सन्दीप आचार्य, झापाका सुजन प्रधान, सुनसरीका विजयबहादुर गिरी र नवलपरासीको बर्दघाटका सुदीप अधिकारी छन् ।

सो समूहले ललितपुरको एकान्तकुनामा जगदीश उपाध्यायको तीनतले घर भाडामा लिएर कल सेन्टर चलाएको थियो । समूहले कल सेन्टरमा रोजगारी दिएर तीन दर्जनबढी नेपालीलाई काममा लगाई विदेशीलाई ठग्ने काम गरेको बताइएको छ । सो समूहले हिंगी, बुम्ब्ली, मुस्लिमा, इन्साह, सलाम, मुज्ज, ओपिक्वीड र अल्खाट्वालगायतका डेटिङ एपको प्रयोग गरेर ठगी गर्ने गरेका थिए । सो एपमा विदेशी महिलाको फोटो राखेर विदेशी नागरिकलाई साथी बनाई अनलाइन प्लेटफर्म ह्यासप्याकमार्फत क्रिप्टोको काम गरिरहेको सीआईबीको अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका आठ जना यसअघि पनि संयुक्त अरब इमिरेट्स (यूएई)मा क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ परेर स्वदेश फिर्ता भएका थिए । पछि चिनियाँ र फिलिपिनी नेपाल आएर नेपाली नागरिहरूसँग पुनः पहुँच बनाई क्रिप्टोको काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको सीआईबीका प्रवक्ता एसपी बोगटीले बताए ।

पक्राउ परेकामध्ये चिनियाँ नागरिक जिआहोङ र क्विजिङ सञ्चालक हुन् । फिलिपिनी नागरिक सिन्सुआत ग्रुप लिडर तथा भाषा अनुवादक रहेको सीआईबीको अनुसन्धानले देखाएको छ । नवलपरासीका सुदीप अधिकारीले भने घरभाडा लिँदा सम्झौता गर्ने दोस्रो पक्षमा हस्ताक्षर गरेको प्रहरीले जनाएको छ ।

सीआईबीले छापा मारेर ५५ थान कम्युटर, १ सय ९४ वटा मोबाइल, चारवटा ल्यापटप र चारवटा राहदानी बरामद गरेको छ । सीआईबीले सोक्रममा ५६ हजार ६ सय थाइभाट, १ सय २३ अमेरिकी डलर, १० हजार तान्जानियन सिलिङ, सय चिनियाँ युआन, ७ सय ९५ यूएई दिराम, १ सय ७० टुर्किस लिरा र १ लाख ६२ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरेको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार