ललितपुर । नेपाल तेक्वान्दो संघ ललितपुर जिल्ला कार्य समितिको पहलमा आज तेक्वान्दो संघका उपाध्यक्ष, सुमेरु ग्रुपका अध्यक्ष तथा समाजसेवी भरत महर्जनले तेक्वान्दो प्रशिक्षकलाई खेलकुद सामाग्री वितरण गर्नुभएको छ ।

आज शनिबार ललितपुर जिल्लाका दुरदराजका झण्डै ६० वटा डोजाङका तेक्वान्दो प्रशिक्षकहरुलाई तेक्वान्दो खेल्नका लागि चाहिने आवश्यक सामाग्रीहरु वितरण गर्नुभएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका समाजसेवी भरत महर्जनले नेपालकै एक नम्बरको खेलको रुपमा हेरिने तेक्वान्दो खेलका खेलाडीहरुलाई खेल्ने वातावरण र उनीहरुको उच्च बनोबल बढाउने उद्देश्यले खेलकुदका सामाग्री वितरण गरेको जानकारी सो कार्यक्रममा गराउनुभएको थियो ।

समाजसेवी महर्जनले ललितपुरका तेक्वान्दो डोजाङका खेलाडीलाई मात्र नभई नेपाल अधिराज्यभरिकै खेलाडीहरुलाई लामो समयदेखि खेलकुदका सामाग्री वितरण गर्नुका साथै तेक्वान्दो प्रतियोगिताहरु गर्नका लागि आर्थिक सहयोगसमेत गर्दै आइरहनुभएको सो कार्यक्रमका संयोजक दिल महर्जनले बताएका थिए ।
तेक्वान्दो खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण कार्यक्रमका विशेष अतिथि नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ, अतिथिहरुमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी, मुख्य प्रशिक्षक नविनकुमार श्रेष्ठ, नेपाल तेक्वान्दो संघ ललितपुर जिल्ला कार्य समितिका कोषाध्यक्ष प्रकाश महर्जनलगायतको उपस्थिति रहेको थियो ।