काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठुलो मात्रामा अवैध रकम विदेश लैजान खोज्दा पक्राउ परेका तीनैजना एक दिनमै छुटेका छन् । तर एकैदिनमा छुटेको विषयमा कार्यालयभित्रै आशंकाको तरिकाले हेरिएको छ । विमानस्थल प्रहरीले बिहीबार पक्राउ गरेका काठमाडौं महानगरपालिका–२२ का ४६ वर्षिय महेशमान महर्जन, टोखा नगरपालिका–१० का ४९ वर्षिय मानव आचार्य र काठमाडौं–१४ का ३० वर्षिय दिपेश भुसाल एक दिनमै छुटेका हुन् ।
उनीहरु काठमाडौं न्यूरोडका व्यापारी हुन् । उनीहरुलाई बिहीबार पक्राउ गरेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको थियो । विमानस्थल प्रहरीका एसएसपी डम्बर विकले उनीहरुले बिहीबार नै राजस्व अनुसन्धान विभाग पठाएको जानकारी दिए । तर, राजस्व अनुसन्धान विभागले भने शुक्रबार नै छोडेको हो । विमानस्थलमा चेकजाँचका क्रममा उनीहरुको साथबाट विभिन्न विदेशी मुद्रा फेला परेपछि पक्राउ परेका थिए । प्रहरीका अनुसार महेशमानका साथबाट युरो १६ हजार ५५० र क्यानेडियन डलर १० हजार ९००, मानवका साथबाट युरो आठ हजार ९५० र थाई भाट तीन हजार ६६० फेला परेको थियो ।
त्यस्तै दिपेशका साथबाट युरो १३ हजार ४००, स्विस फ्रान्क दुई हजार ४००, क्यानेडियन डलर चार हजार ५००, साउदी रियाल १९ हजार, थाई भाट दुई हजार र जापानी येन चार लाख ९० हजार बरामद गरिएको प्रहरीले जनाएको छ । यति ठुलो रकमसहित पक्राउ परेका व्यक्तिहरुलाई पनि किन अनुसन्धान नगरी छाडिएको हो भन्ने प्रश्नमा राजश्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत पदम कार्कीले उनीहरु नेपाली भएका कारण थुनाबाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने भएपछि धरौटी लिएर छोडेको बताए ।