कोरोनरी मुटुरोग के हो र समाधान कसरी गर्ने ?

24k Shares

मुटुले कसरी काम गर्छ ?
मान्छेको मुटु मांशपेशीले बनेको एउटा पिण्ड हो, यो हाम्रो मुठ्ठी जत्रो हुन्छ जुन हाम्रो जम्म देखि मृत्युसम्म निरन्तर कार्यरत रहन्छ । सम्पूर्ण शरीरमा रक्तको संचार यसको कार्य हो । मुटु चार खण्डमा विभाजित रहेको छ दुईवटा दायाँतर्फ र दुईवटा बायाँतर्फ । सम्पूर्ण शरीरको रगत दुईवटा ठूला शिराहरुद्धारा माथिल्लो दायाँ अरिकलमा पुग्छ र त्यहाँबाट तल्लो दायाँ भेन्ट्रिकलमा गएर फोक्सोतर्फ शुद्ध हुनको लागि जान्छ । फोक्सोबाट शुद्ध भएको रगत माथिल्लो बायाँ अरिकलमा आउँछ र त्यहाँबाट तल्लो दायाँ भेन्ट्रिकलमा आएर एउटा एओर्टा नामको ठूलो धमनिद्धारा हृदय र सम्पुर्ण शरिरमा प्रवाहित हु्न्छ । यो सम्पुर्ण प्रवाहलाई एउटा दिशामा निश्चित गर्नका लागि मुटुमा भल्ब रहेको हुन्छ । कुनै कारणवश यदि मुटुलाई रगत पुर्याउने धमनिमा अवरोध उत्पन्न  भएमा मुटुको रगत प्रवाह ढंगसँग हुन सक्दैन र मु्टुको काममा अवरोध उत्पन्न हुन्छ । मुटुको मांशपेशीमा रक्त संचालन गर्ने धमनीलाई कोरोनरी आर्टरी भनिन्छ । यी आर्टरी एओर्टाबाट निस्केका शुद्ध रगत बोकेका नलीहरु हुन् । दायाँ र बायाँ कोरोनरी आर्टेरीहरु स—साना केशिकाहरुमा विभाजित भएर मुटुका मांसपेशीलाई रगत पुर्याउँछन् । त्यसमा ब्लकेज हुने (जाम) हुने समस्यालाई कोरोनरी मुटुरोग Coronary Heart Disease  भनिन्छ । त्यसमा जाम भएपछि नै हृदयाघात Heart Attack  हुने हो ।
मुटुको मांशपेशीलाई रगत कम भई हुने दुखाईलाई मुटुको शूल (Angina) भनिन्छ । मुटुको शूल धमनीमा थोरैथोरै मात्र अवरोध भएको तर पूरा बन्द नभएको अवस्था हो भने धमनिमा ब्लकेज बढेर रगत संचार पूरै बन्द भई मांशपेशी मर्ने अवस्थाको दुखाईलाई हृदयाघात भनिन्छ । यो प्रकृयालाई कोगुलेसन नेक्रोसिस भनिन्छ र मृत मांशपेसीलाई Infarct इन्फाक्र्ट भनिन्छ । इन्फाक्र्ट ठूलो भए त्यो भाग फुटेर मानिस तत्कालै मर्छ भने तर सानो भए त्यो भागमा ३—४ हप्तामा नयाँ रक्तनली बन्छ र २ महिनामा त्यो भाग सामान्य अवस्थामा आउँछ तर त्यो भाग पहिलेको तुलनामा अलि पातलै रहन्छ ।

लक्षणहरु
·    शुरुमा अलिकति परिश्रममा पनि श्वास फुल्न थाल्ने र छातीमा अफ्ठेरो हुने त्यसपछि छाती दुख्न थाल्छ ।
·    दुखाई चर्को हुन्छ र घन्टौंसम्म रहन्छ दुखाईसँगै वान्ता हुन्छ र श्वास पनि फुल्छ । नाडीको गति बढ्छ, रक्तचाप घट्न जान्छ र हल्का ज्वरो शुरु हुन्छ । यस्तो दुखाईलाई एन्जाईना भनिन्छ ।

कारणहरु
१.    खानामा शरीरलाई चाहिने भन्दा बढी चिल्लो खानु ।
२.    कुल आहार शरीरलाई चाहिने भन्दा बढी खानु ।
चिल्लो शरीरको आवश्यकता भन्दा बढी लिनाले सामान्यतः शरीरको तौल आवश्यकता भन्दा बढी हुने हुन्छ । चिल्लो बढी खानाले रगतमा कोलेष्टेरोलको मात्रा बढ्न जान्छ, कलेजो र मुटुमा चिल्लो जम्मा हुन जान्छ जसले गर्दा ती अंगहरुले राम्रो सँग कामगर्न सक्दैन यसले गर्दा रक्तचाप बढ्ने, मुटुरोगको समस्या  हुन जान्छ ।
शरीर मोटो नभएपनि शरीरलाई आवश्यक भन्दा बढी चिल्लो खानु, व्यायामको कमी भएमा पनि यस्तो समस्या आउँछ । खाद्य पदार्थमा प्राकृतिक रुपमा नै रहेको चिल्लोलाई नदेखिने चिल्लो भनिन्छ भने खाद्य पदार्थबाट निचोरेर निकालिएको चिल्लोलाई देखिने चिल्लो भनिन्छ । यी दुबै प्रकारका चिल्लो साचुरेटेड र अनसाचुरेटेड गरी दुबै  हुन्छन् । २५ डिग्री सेन्टिग्रेट तापक्रमलाई साचुरेटेड र अनसाचुरेटेड छुट्याउने आधारको रुपमा लिईन्छ । यस अनुसार कुनै पनि चिल्लो २५ डिग्री सेन्टिग्रेट तापक्रममा जति मात्रामा जम्छ त्यो त्यति नै संम्तृप्त हुन्छ । संम्तृप्त Saturated Fat भएका चिल्लोले स्वास्थ्यलाई लाभ भन्दा हानी गर्छ किनभने यसले रगतमा Cholesterol, LDL दुबैलाई बढाउँछ भने असंन्तृप्त चिल्लोले HDL लाई बढाउँछ । नरिवलको तेल, वनस्पती घिउ, गाई भैंसीको घिउ आदि संन्तृप्त चिल्लो हुन् भने तोरीको तेल, बदामको तेल कम असंन्तृप्त हुन्छन् भने मकै भटमास र सुर्यमूखी तेल भने अति असंन्तृप्त हुन्छन् । मानिसलाई खास चिल्लोको दैनिक  आवश्यकता लगभग ३० — ४० ग्राम भए पुग्छ र २०—३० ग्राम चिल्लो मानिसले खाने अन्न सागपात, तरकारीबाट नै  पाइने हुदा  देखिने चिल्लो १०—२० ग्राम लिए पुग्छ वा नलिए पनि पुग्छ । चिल्लो बढी भई स्वास्थ्य समस्या आइसकेको भए देखिने चिल्लो एक थोपा नै नलिनु बेस हुन्छ । 
जनावरका बोसो, काजु, बदाम, ओखर, पेस्ता, नरिवल आदिमा पाइने चिल्लो पनि जम्ने चिल्लोमा पर्छन् । पाचन क्षमताभन्दा बढी खाँदा ती सबैले पनि मुटुमा जाम गर्ने काम नै गर्छ ।

समाधान ः 
·    चिल्लो बढी खाएको भए चिल्लो बन्द गर्ने तारेभुटेको नखाने ।
·    हाईट अनुसारको तौल बढी छ भने तौल ठीक ठाउँमा ल्याउने ।
ब्लकेज भएर रक्त नलीमा ढुंगाजस्तै (Calcification भइसकेको भए, उचित आहार, विहार र विचारले मात्र ढुंगा पग्लिदैन । त्यसको लागि surgery नै गर्नुपर्ने हुन्छ तर ढुंगा बनेको छैन ब्लकेज मात्र भएको हो भने खानापान मिलाएर नै यो ब्लकेजको रोग ठिक हुदै जान्छ । चिल्लोको आपुर्ति कम भएपछि त्यही चिल्लो शरीरले खान थाल्छ । तौल बढी हुनेले घरमा बसी बसी हप्तामा १ केजी तौल घटाउन सकिन्छ । माछा, मासु, अण्डा, दुग्धपदार्थ नखाने तर भात मात्रै धेरै खान,े शरीर मोटो छ भने पनि मुटुमा ब्लकेज हुनसक्ने खतरा हुन्छ । त्यसैले चिल्लो नखादा पनि तौल बढी छ भने तौल घटाउनु नै पर्छ । कोलस्टेरोल र ट्राईग्लिसेराईड, एल डि एलको मात्रा बढी भएपछि मुटुलाई रिस्क बढ्छ र हृदयाघात हुने कारण बन्छ । 
प्रकृति प्रेमी समुहले आयोजना गर्दै आएको ७ दिने शिविर“दिशा बदले दशा सप्रिन्छ, साचो ध्यान शिविर” कार्यक्रममा उचित आहार, विहार र विचार स्वअभ्यास गर्दा हप्तामा कम्तिमा २ के जी र बढीमा ७ के जी सम्म तौल घट्ने गरेको देखिन्छ । निरोग–आनन्दित रहन प्रकृतिप्रेमी समूहले सदस्यहरुलाई उचित आहार, विहार र विचार स्वअध्ययन–स्वअभ्यास गर्न प्रेरित र सहयोग गर्न ७ दिने शिविर लगायत विविध समयावधिका विविध व्यवहारिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

मुटुमा ब्लकेज भएको भए आहारमा मिलाउँनु पर्ने कुराः 
मुटुको समस्यामा दैनिक आहार कस्तो लिने ?

– बिहानको नास्ता नलिने । यदि खाना साह्रै ढिलो हुने हो भने मात्र नास्ता लिने    नास्तामा फलफुल अथवा तरकारीको सुप लिने ।
– यदि खाना करिब ९–१० बजेभित्र नै लिइन्छ भने ३ बराबर आहार (एकभाग अन्न, एकभाग हरियो तरकारी र एकभाग काँचो सलाद फलफुल लिने, यदि तौल बढि छ भने एकदलिय अन्न (कार्बोहाइट्रेड) जति लिइन्छ त्यसमा २५% कम गर्ने, हरियो तरकारी करिब २००–३०० ग्राम र सलाद करिब १००–१५० ग्राम लिने ।
– ९–१० बजेभित्र खाना लिइयो भने खाजामा २–३ बजेभित्र सिजनल फलफुल अथवा ताजा तरकारीको सुप अथवा हल्का आहार गर्ने ।
– बेलुकी ७–८ बजेभित्र बिहान जस्तै खाना लिने ।
–यदि दिउसो टन्न खाजा लिइएको छ भने बेलुकी फलफुल मात्र वा ताजा तरकारीको सुप मात्र लिने ।
–माछा, मासु, अण्डा, दुग्धपदार्थ लगायत कृतिम चिल्लो बन्द गर्ने ।
–ड्राइनट्समा काजु, बदाम, पेस्ता, ओखर, नरिवल आदि बन्द गर्ने ।
–पूर्ण रुपमा शाकाहारी हुने ।
–नुन मसला कम गर्ने या आवश्यकता अनुसार बन्द गर्ने ।

पानीको प्रयोग 
– बिहान उठ्ने बित्तिकै करिब १ लिटर मनतातो पानी लिने ।
– खाना र खाजासँग पानी नलिने, खानाको १ घण्टा अघिपछि घण्टामा १ गिलासको दरले   लिने ।
– जाडोमा दुईदेखि साढेदुई  लिटर, गर्मीमा तिनदेखि साढेतिन लिटर पानी लिनु बेस हुन्छ ।

विहारमा 
—    शरीरको जोर्नीहरु संचालन हुने हल्का सजिलो सुक्ष्म अंगव्यायाम, प्राणायाम, ध्यान लाभदायक हुन्छन् । यदि व्यायामगर्ने अवस्था छैन भने प्रातः भ्रमण गर्नु उत्तम हुन्छ ।
–धुम्रपान, मद्यपान बन्द गर्ने ।
–प्रेसर, सुगर सदैव मापदण्डअनुसार ठीक ठाउँमा राख्ने, कोलेस्टेरोल LDL, HDL, Triglyceride सबै ठाउँमा राख्ने ।

विचारमा
सदैव तनाव मुक्त, चिन्ता मुक्त जीवन जीउँने, घमण्ड, इष्र्या, रिस, घृणा, लोभ, बेइमानी, छलकपट, प्रतिशोध, असन्तुष्टी आदि कुविचार त्यागी दया, करुणा, मैत्री, प्रेमसम्मान र क्षमाशिलताको भावनाले मनमा शान्ति र आनन्द कायम रहन्छ ।

हृदयघात भइसकेको अवस्थामा 
हृदयघातको अवस्थामा करिब २५ प्रतिशत विरामी पहिलो २ दिनमा नै मृत्यु हुने र अर्को हदृयघात भएमा ५० प्रतिशतको मृत्यु भएको देखिन्छ । यदि विरामी ४ दिनसम्म बाँचेमा निको हुने सम्भावना बढ्छ । ३ हप्तासम्म कुनै उपद्रव नभएमा हृदयघात भएको ठाउँमा रक्त नलीहरु नयाँ बन्छन् । हृदयघातको अवस्थामा पूर्ण विश्राममा रहनुपर्छ । कोल्टेफेर्ने काम पनि अरुको सहयोगले गनुपर्छ । हृदयाघात भएपछि ढीलो नगरी पूर्ण विश्राममा राखेर सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्छ । अस्पतालको आकस्मिक सेवापछि सामान्य अवस्था नभएसम्म पूर्ण आराममा रहनुपर्छ । दुखाई नरहेपछि बिस्तारै गतिविधि शुरु गर्नुपर्छ । बिस्तारै सामान्य अवस्था भएपछि सदा उचित आहार विहार अपनाई रहेमा समस्या दोहोरिदैन र पूर्ण आयुसम्म आनन्दसँग बाँचिन्छ । (सांभार पुस्तक निरोग आनन्दको रहस्य र ७ दिने शिविर )

(डंगोल योग तथा उचित आहार बिहार विचार प्रशिक्षक हुन्)

सम्बन्धित समाचार