काठमाडौँ । पछिल्लो समयमा रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या पनि बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढेको हो ।
सरकारले घरेलु श्रममा खाडी जाने महिलालाई रोक लगाए पनि पछिल्लो समय घरेलु श्रमबाहेकका कामका लागि संस्थागत श्रम स्वीकृति लिने जाने बढेको छ । विभागका अनुसार गत वर्षको १० महिनामा २७ हजार २१४ महिला वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएकोमा चालु आवमा ३१ हजार ५८५ पुगेका छन् । वैधानिकीकरण र पुनः विदेश जानेको सङ्ख्या त्योभन्दा बढी रहेको छ ।
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत पाँच वर्षमा विदेश जाने महिलाको हिस्सा पाँच प्रतिशतबाट वृद्धि भएर १२ प्रतिशत पुगेको छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा जाने समग्र सङ्ख्या वृद्धिसँगै महिलाको हिस्सा पनि क्रमशः बढेको बताउनुभयो ।
घरेलु श्रममा जान महिलालाई प्रतिबन्ध लगाए पनि अन्य काममा जान खुला रहेको बताउँदै उहाँले भन्नुभयो, “पछिल्लो समयमा महिला श्रम स्वीकृति लिएर होटेल, उत्पादन उद्योग, सुपरमार्केटलगायतका क्षेत्रमा जाने गरेका छन्, यो क्रमशः बढ्दो छ ।”
सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रूपमा जाने महिलाको श्रम स्वीकृति रोक्का गरे पनि आव २०७८/७९ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रम स्वीकृति लिएका थिए । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रूपमा जाने महिला असुरक्षित रहेको जनाउँदै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएपछि विदेश जाने महिलाको सङ्ख्या घट्दै गएको थियो ।
विभागका अनुसार संयुक्त अरब इमिरेट्स (युएई), कतार, दक्षिण कोरिया, इजरायल, कुवेत, साइप्रस र मलेसिया जस्ता श्रम गन्तव्यमा नेपाली महिला श्रमिक रोजगारीका लागि बढी जाने गरेका छन् । वैदेशिक रोजगारीका लागि ११० वटा देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, युएई, दक्षिण कोरिया, कुवेत, जोर्डनलगायतका देश वैदेशिक रोजगारीका मुख्य गन्तव्य रहेका छन् । जसमा ५० प्रतिशत हिस्सा युएई र कतारले ओगटेका छन् । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सबैभन्दा बढी मधेश प्रदेशबाट छ तर महिलाको सङ्ख्या भने पहाडी जिल्लाबाट गएको देखिन्छ । आजको गोरखापत्र दैनिकबाट