काठमाडौं । बाल संगठनले बालमन्दिर चलाउन छुट्ट्याएको २८ रोपनी ५ आना जग्गा हडप्न मुलुककै ठूलोमध्येको व्यापारिक घराना ‘विशाल ग्रुप’ योजनाबद्ध रूपमा लागिपरेको विभिन्न तथ्यहरूले पुष्टि गरेको छ ।
जग्गा हडप्नकै लागि विशाल ग्रुपको योजनामा ६० वर्षका लागि बाल संगठनको जग्गा भाडामा लिइएको देखिएको छ । नेपाल बाल संगठनका तत्कालीन पदाधिकारीलाई विभिन्न प्रलोभनमा पारी जग्गा हडपेको प्रमाण फेला परेपछि केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेको थियो ।
सरकारी जग्गालाई गैरकानुनी रूपमा सम्झौता गरी अनन्तकालसम्म प्रयोग गर्न दिने र लिने दुवै पक्ष गरी २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले अनुसन्धान थालेको हो ।
विशाल ग्रुपले बालमन्दिरको जग्गा हत्याउन बृहस्पति विद्यासदन र राय स्कुललाई अघि सारेको कुरा उनीहरूको सो संस्थामा भएको आबद्धताले पनि पुष्टि गरेको छ ।
बृहस्पति र राय स्कुलको सेयर लागतमा विशाल ग्रुपकै सदस्यहरूको नाममा बढी सेयर रकम देखिएको देखिन्छ । सुरुमा बृहस्पति विद्यासदन पुरुषोत्तमराज जोशीले सञ्चालन गरेको भए पनि अहिले उनको नाममा सेयर संख्या न्यून छ भने सेयर रकम र संख्यामा विशाल ग्रुपमै रहेकाहरूको वर्चस्व रहेको छ । बृहस्पतिमा रहेका १४ जना सेयर सदस्यमध्ये प्रत्यक्ष–अप्रत्यक्ष गरी अधिकांश विशाल ग्रुपकै परिवारका सदस्य पाइएको छ ।
३ वैशाख २०६९ सम्म बृहस्पतिमा पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्जवलराज जोशी र मीनुकुमारी जोशीसमेत पाँच जनाको लगानी रहेको थियो । त्यसपछि क्रमशः विशाल ग्रुपका अग्रवाल परिवारको लगानी हुँदै र बढ्दै अहिले आएर बहुमतभन्दा बढी सेयर अग्रवाल परिवारकै रहेको छ । आजको राजधानी दैनिकबाट