प्रलोभनले उडाउँदै छ विदेश जाने सपना

16.5k Shares

काठमाडौँ । रुपन्देही मुर्गियाका चित्रबहादुर सुनारको फेसबुक म्यासेन्जरमा अपरिचित व्यक्तिबाट एक भिडियो सन्देश आयो । सन्देशमा कम्बोडियामा सुरक्षा गार्डका लागि मासिक आठ सय अमेरिकी डलर (एक लाख रुपियाँभन्दा बढी) कमाइ हुने सूचना थियो । 

सन्देश पठाउने पोखरा कास्की घर भई कम्बोडिया बस्ने अनिल गुरुङले कागजपत्रसहित दुई लाख रुपियाँ पठाए भिसा र हवाई टिकट पठाउने बताए । चित्रले नवलपरासी बर्दघाटका दीपक सुनारको पनि पासपोर्ट र कागजपत्र गुरुङलाई पठाए । गुरुङले तोकेको व्यक्तिको बैङ्क खातामा दुई दुई लाख रुपियाँ पठाई दिए । 

गुरुङले १५ दिनमै दीपक र चित्रको नाममा भिसा र हवाई टिकट पठाइदिए । परिवार र आफन्तबाट बिदा भई विदेश जान यही वैशाख ७ गते बिहान ११:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका दीपक र चित्रलाई हवाई कम्पनी र अध्यागमनले उड्ने अनुमति दिएन । 

दुवै जनाको टिकट र भिसा नक्कली थियो । दुवैले अनिल गुरुङलाई मोबाइलमा सम्पर्क गर्ने प्रयास गर्दा गुरुङ भने सुनारद्वयबाट सम्पर्कविहीन भइसकेका थिए । यसैबिच अर्को घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौँको मैतीदेवीस्थित गोल्ड माइन कन्सल्टेन्सीका सञ्चालक काठमाडौँकी मञ्जु रानामगर र ओखलढुङ्गा खिजीदेम्बाकी तीर्थमाया कार्कीलाई पक्राउ ग¥यो । कन्सल्टेन्सीको आवरणमा चेक रिपब्लिक र सर्बिया पठाउने भनी दुवैले २३ जना पीडितको एक करोड ३६ लाख रुपियाँ ठगेको प्रहरीको दाबी छ । 

भिजा प्लस प्रालि नामक शैक्षिक परामर्श कम्पनीमार्फत न्युजिल्यान्डलगायतका मुलुकमा पठाउने भन्दै ४२२ जनाको झन्डै तीन करोड रुपियाँ ठगी गर्ने धादिङको धुनिबेँसी–४ का जिवा गौतम र कालीकोटको छाप्रे–६ का दर्शन नेपालीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

पोल्यान्ड, डेनमार्क, स्पेनलगायतका युरोपेली मुलुकमा पठाउने भन्दै ठग्ने भोजपुरको टेम्के मैयुङ­­–३ का सङ्घर्ष राई, रुसी सेनामा भर्ना गरिदिने भन्दै ठग्ने मुगु खत्याड­­–८ का नमराज रावत, स्पेन पठाउने भन्दै आठ जनाको ५६ लाख रुपियाँ ठग्ने झापा दमक–५ का विजय भण्डारी, क्यानडाको प्रलोभन देखाएर ६८ लाख ठग्ने 

सुनसरी इनरुवा–३ का सत्यन्द्र श्रेष्ठ, सर्लाही हरिवन–९ का रूपेशकुमार ठाकुर, बरथहा–३ का कृष्णबहादुर राईलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार