दाङ– दाङको बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रुपैयाँ बढी आम्दानी गरेको छ ।
टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए ।
परम्परागत रूपमा जङ्गलमा पाइने टिमुरलाई आम्दानी बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पाँच वर्षअघिदेखि नर्सरीका रूपमा विकास गरिएको उनको भनाइ छ । यसका लागि सात लाख लगातमा जिआइजेडले ‘ग्रीन हाउस’ र लुम्बिनी प्रदेश वन डिभिजन कार्यालयसँगको साझेदारीमा वन समूहले तीनवटा टनेल निर्माण गरेको थियो ।
वन समूहले सुरुका वर्षहरूमा साविकको राप्तीसँगै बाँके, सुर्खेत, गुल्मीलगायत ठाउँमा बिरुवा बिक्री गरेर वार्षिक १० लाखसम्म आम्दानी गरेको भए पनि पछिल्लो समय अन्य जिल्लामा बिरुवा उत्पादन हुन थालेपछि आम्दानी घटेको वन समूहका अध्यक्ष बुढाले बताए ।