नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटी बैठक बोलाउँदै ओली

16k Shares

काठमाडौं, ३१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बोलाउने भएका छन् । उनले यसै हप्ता बैठक बोलाउने तयारी गरेका हुन् ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक बोलाएर ओलीले माधव नेपाल समूहलाई साथमा लिन खोजेको बुझिएको छ । उनले निर्वाचित कमिटीलाई ब्युँताउने रणनीति समेत बनाएका छन् ।

ओलीले २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई फर्काउने शर्तसहितको प्रस्ताव माधव नेपाल खेमालाई राखिसकेका छन् । बिहिबारको सर्वोच्च अदालतको आदेशले नवौं महाधिवेशनको कमिटी बाहेकको पछिल्लो महाधिवेशन आयोजक कमिर्टीको निर्णय नै अमान्य हुने भनिदिएपछि ओलीका लागि पुरानै कमिटीमा फर्कनुपर्ने वाध्यकारी परिस्थिति पनि बनिसकेको छ । यही मौकामा उनले बैठक बोलाउन लागेका हुन् ।

सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतका नेताहरु नवौं महाधिवेशनको कमिटी ब्युँतिएको अवस्थामा पार्टी फुटाउने पक्षमा नजाने निश्चित छ । त्यसपछि माधव नेपाल अप्ठ्यारोमा पर्न सक्छन् । ओलीले नेपाललाई फेरि एकताको अस्त्र हानेर अप्ठ्यारोमा पार्न खोजेको विश्लेषणहरु भइरहेको छ ।

नवौं महाधिवेशनको केन्द्रीय कमिर्टी ब्युँताउदा पनि ओली पदाधिकारीसहित बहुमतमा पुग्ने सम्भावना रहन्छ । उनले कतिपय पदाधिकारी आफ्नो पक्षमा पारिसकेका छन् । माधव नेपालसहित उनी पक्षीय आधा नेताहरु नफर्किएमा झन् उनी स्पष्ट बहुमतमा रहनेछन् ।

ओलीले विघटित प्रतिनिधिसभामा माधव नेपाल खेमाका कम्तिमा १३ जना तान्न खोजेका छन् । त्यसतर्फ उनी सफल पनि हुनेतर्फ बढेका छन् । उनीहरुलाई तान्न सकेमा शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने १४६ को संख्या घटेर १३३ मा आइपुग्छ । जुन प्रतिनिधि सभाको बहुमत रहनेछैन ।

ओलीले तत्काल देउवाको पक्षमा रहेको रिटमै १३३ भन्दा कम देखिने गरी रणनीति बढाइरहेका छन् । त्यसमा उनी क्रमशः सफल पनि बन्दै गएका छन् । १४६ बाट संख्या घटाएर १३३ मा सिमित बनाउन सके आफू अनुकूलको परिस्थिति विकास हुनसक्ने ओलीको बुझाई रहेको निकट स्रोतले बताएको छ । ओली त्यसैमा ध्यान केन्द्रित गरिरहेका छन् ।

नवौं महाधिवेशनबाट निर्वाचित कमिटी यस्तो छ
नवौं महाधिवेशनमा एमालेमा निर्वाचित १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारी ओली खेमामा छन् । माधव नेपाल खेमामा पनि ५ जना नै छन् । विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उपाध्यक्षको एक पद खाली छ । तीन पदाधिकारीमध्ये उपाध्यक्ष वामदेव गौतम, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई तटस्थ छन् । गौतम एमाले एकता अभियानमा सक्रिय छन् ।

महाधिवेशनपछि स्वतः वरिष्ठ नेता भएका झलनाथ खनाल र पार्टी नेताका रुपमा उल्लेख गरी पछि वरिष्ठ नेता बनाइएका माधव कुमार नेपाल नै ओलीविरोधी गुटका नेता हुन् । उनीहरुसहित एमालेको नवौं महाधिवेशनपछिको पदाधिकारीको गणना गर्दा ओली पक्षमा ५ जना र नेपाल पक्षमा ७ जना छन् ।

नेकपा एमालेको निर्वाचित २२ जना स्थायी कमिटीमा ९ जना ओली पक्षमा छन् । ९ जना नेपाल पक्षमा छन् । महाधिवेशनमा पदेन निर्वाचित स्थायी कमिटी सदस्य अमृतकुमार बोहरालाई जोड्दा १० जना नेपाल पक्षमा देखिन्छन् । तर, महाधिवेशनलगत्तै स्थायी कमिटी सदस्यमा मनोनित भएका सुवास नेम्वाङलाई समेत जोड्दा दुवै पक्षमा १०–१० जना छन् । ३ जना स्थायी कमिटी सदस्य तटस्थ भूमिकामा छन् ।

नवौं महाधिवेशनमा नेपाल समूहबाट महासचिवको चुनाव लडेका सुरेन्द्र पाण्डे नेपाल समूहमै छन् । तर, उनको मध्यमार्गी भूमिका देखिन थालेको छ ।

केपी शर्मा ओली पक्षधर स्थायी कमिटी सदस्य
१. केपी शर्मा ओली, अध्यक्ष
२. ईश्वर पोखरेल, महासचिव
३. प्रदीप ज्ञवाली, सचिव
४. पृथ्वी सुब्बा गुरुङ्ग, सचिव
५. विष्णु पौडेल, उपमहासचिव
६. शंकर पोखरेल, स्थायी कमिटी सदस्य
७. सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य
८. किरण गुरुङ्ग, स्थायी कमिटी सदस्य
९. छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य
१०. सुवास नेम्वाङ, स्थायी कमिटी सदस्य, मनोनित

माधव नेपाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१. माधवकुमार नेपाल, पार्टी नेता
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. भीम रावल उपाध्यक्ष
४. अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष
५. युवराज ज्ञवाली, उपाध्यक्ष
६. घनश्याम भुसाल, उपमहासचिव
७. भीम आचार्य, सचिव
८. सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य
९. मुकुन्द न्यौपाने, स्थायी कमिटी सदस्य
१०.अमृतकुमार बोहरा, पदेन स्थायी कमिटी सदस्य

तटस्थ
१. बामदेव गौतम, उपाध्यक्ष
२. गोकर्ण बिष्ट, सचिव
३. योगेश भट्टराई, सचिव

सम्बन्धित समाचार