नेपालमा चिनियाँ ठेकेदार कम्पनीहरु हालीमुहाली हुन थालेका छन् । उनीहरुले ठूला निर्माण र टेलिकमसम्बन्धी आयोजनाहरु हात पारिरहेका छन् । जसको कारोबार अरबमा नभई खरबमा हुनथालेको छ । निर्माण कार्यसम्बन्धी ठूला ठेक्काको आयोजना हो । फाष्ट ट्रयाक । अहिलेसम्म खोलिएका सबै प्याकेजमा चिनियाँ कम्पनी नै काम गरिरहेका छन् । उनीहरुले दक्ष जनशक्ति चीनबाट नै ल्याएर काम लगाइरहेका छन् । मेशिनरी सामान पनि चीनबाट नै आउँछ । चिनियाँ कम्पनीले फाष्ट ट्रयाकबाट मात्र खर्बभन्दा बढी रकम नेपालबाट लाँदैछ । यसमा ठेक्का पाउने कम्पनीको नाफा, निर्माण सामाग्री देखि जनशक्तिको पारिश्रमिक पनि पर्दछ । चिनियाँ कम्पनीले नारायणगढ बुटवल सडक खण्ड पनि निर्माण गरिरहेको छ । सिद्धबाबा सुरुङमार्ग पनि चिनियाँ कम्पनीलाई नै ठेक्का परेर काम भइरहेको छ । यी निर्माणबाट पनि ठूलो धनराशी चीन पुग्ने भएको छ ।
चीनले मेलम्चीमा पनि ठेक्का पाएको थियो । इटालीको कम्पनीलाई हटाएर पछि चीनको कम्पनीलाई ठेक्का दिइएको हो । तत्कालीन खानेपानी सचिव भीम उपाध्यायले एक अर्ब ठेक्कामा सकिन लागेको काममा ठेक्का खारेज गरी तीन अर्बमा चिनियाँ कम्पनी भित्राइएको सामाजिक सञ्जालमा लेखिसकेका छन् । यही प्रकरणले उपाध्यायसहितका पूर्वसचिवहरुमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।
चिनियाँ कम्पनी पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि ठेक्का पाउन सफल भए । पोखरा विमानस्थल त चिनियाँ ऋणमा बनेको हो । त्यसवापत् चिनियाँ कम्पनीले दशौं अर्ब लान सफल भएको छ । ती विमानस्थलहरु दुवै प्रयोगमा नआउँदा देशले वर्षेनी अरबौं नोक्शान भोग्नुपरेको छ । चिनियाँ कम्पनीलाई नै ल्याउने गरी निजगढ विमानस्थल बनाउने प्रयास चलिरहेको छ ।
चीनको चाइना स्टेट, पोलि चाङ्दालगायत कम्पनी नेपालको निर्माण क्षेत्रमा सक्रिय छन् । कतिपय चिनियाँ कम्पनी जलविद्युत आयोजना निर्माणमा पनि सक्रिय छ । चीनले निर्माण क्षेत्रमा चासो देखाएसँगै सिमेन्ट कम्पनी पनि खोलेको छ । उसले आफ्नै कम्पनीको सिमेन्ट प्रयोग गर्न यस्तो रणनीति बनाएको हो । यसरी चीनले जनशक्ति देखि निर्माण सामाग्री समेत आफ्नै प्रयोग गरेर ठूलो रकम नेपालबाट लग्न सकेको छ । चिनियाँ अधिकारीहरुले ठेक्का आफ्नो देशका कम्पनीलाई दिलाउन दबाब दिने गरेको विषय पनि उठ्दै आएको छ ।
यसैगरी दूरसञ्चार क्षेत्रमा पनि प्रायः चिनियाँ कम्पनीले नै ठेक्का पाउने गरेका छन् । हुवावेले नेपालमा फोरजीको ठेक्का पाएको थियो । फाइभ जी पनि उक्त कम्पनीलाई दिलाउने गरी काम बढाइएको छ । नेपाल टेलिकमको बिलिङमा पनि चिनियाँ कम्पनीलाई नै ठेक्का पार्ने गरी काम बढाउन खोजिएको छ । चीनको हुवावे नेपालको टेलिकम क्षेत्रमा हावी छ । उक्त कम्पनीले विभिन्न ठेक्का र दूरसञ्चार सामाग्री विक्रीवापत् दशौं अर्ब रकम नेपालबाट लगिसकेको छ । चिनियाँ कम्पनीले निर्माणमा हात हालेको ठाउँहरु विवादमा समेत परिरहेका छन् । बुटवल नारायणगढ सडकखण्डमा ढिलाई भइरहेको छ । फाष्ट ट्रयाक पनि ७ वर्ष बितिसक्दा ३० प्रतिशत मात्र काम सकिएको छ । अन्य काम पनि ढिलाईले खर्च बढेको छ ।