पोखरा । गण्डकी प्रदेशका पूर्व सांसदले लोगो माग गरेका छन् । २०७४ सालको निर्वाचनपछि गण्डकी प्रदेशसभामा ६० जना सदस्य थिए । प्रदेश संरचनाको पहिलो सदस्य भएकाले ‘संस्थापकको लोगो’ पाउनुपर्ने उनीहरूको माग छ । गण्डकीमा गत पुस २६ गते पूर्वसांसदहरू सम्मिलित मञ्च गठन भएको थियो ।
पुस २६ गतेको भेलाले मञ्चको बैठक माघ २२ गते बस्ने निर्णय गरेको थियो । माघ २२ गते प्रदेशसभा स्थापना दिवस पनि हो । प्रदेशसभा स्थापना दिवसको कार्यक्रम सुरु हुनुअघि मञ्चको बैठक बसेर संसथापकको हैसियतमा लोगो माग गर्ने निर्णय गरिएको मञ्चको संयोजन गरिरहेका पूर्वसभामुख नेत्रनाथ अधिकारीले बताए ।
लुम्बिनी प्रदेशले पूर्वसांसदहरूलाई लोगो दिएको र आफूहरूलाई पनि उपलब्ध गराउनका लागि सभामुखलाई जानकारी गराइएको उनले बताए ।
“संस्थापकको लोगो दिनुपर्ने विषय अहिलेको सरकार वा प्रदेशसभा सचिवालयले नै जान्नुपर्ने कुरा हो । हामीले सभामुखलाई पनि भनेका छौँ र सरकारलाई पनि जानकारी दिन भनेका छौँ,” उनले भने ।