काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्ष यो तापक्रम अहिलेसम्मकै कम भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीलाई जानकारी दिए ।
यो वर्ष यसअघि गएको मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो (सोमबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस थियो ।
तापक्रम घटे पनि आज पानी पर्ने सम्भावना नरहेको मौसमविद् अर्यालले बताए ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।