अरबौं राजश्व छल्दै एनसेल, के हेरेर बसेको छ राज्य ?, कर्मचारीहरुलाई ० प्रतिशतमा १ करोड ऋण दिने एनसेल कसरी घाटामा गयो ?

22.5k Shares

काठमाडौं । अरबौं राजश्व छल्ने नियतबस सम्बन्धित निकायलाई पत्तै नदिई कागजीरुपमा घाटा भएको देखाउँदै एनसेलको शेयर खरिद—विक्री भएको पाइएको छ ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी र वैदेशिक लगानीका सन्दर्भमा प्रत्यक्ष सरोकार राख्ने नेपालस्थित सरकारी निकायलाई जानकारी नै नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरेको पाइएको हो ।
जबकि नेपालस्थित एनसेल कम्पनी, बिक्रेता आजियटा र खरिदकर्ता स्पेक्ट्रलाइटले खरिद–बिक्रीसम्बन्धी सम्पूर्ण कारोबार भइसकेको भनेर औपचारिक रूपमै सार्वजनिक गरिसकेका छन् । दूरसञ्चार प्राधिकरणले आवश्यक पूर्वस्वीकृति नलिई प्रक्रिया अघि बढाएको भन्दै एनसेल आजियटालाई स्पष्टीकरण माग गर्दै पत्राचार गरेको छ । राज्यलाई अरबौं राजश्व छली गर्ने एनसेल कम्पनीलाई ठाउँको ठाउँ कारवाही नगरी एफडीआईसहित अनुमति तथा अनुगमनकारी निकाय र राज्य के हेरेर बसेको छ ? 
यसबारे दूरसञ्चार क्षेत्रका विज्ञ र कानुन व्यवसायीले पनि एनसेलको सेयर स्वामित्व खरिद–बिक्री सम्झौता प्रक्रियामा कानुनी र नैतिक प्रश्न उठाएका छन् । आजियटाले बिक्री प्रक्रिया घोषणा गरेलगत्तै प्राधिकरणले तत्काल एनसेललाई पत्र पठाउँदै उक्त प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै स्पष्टीकरण मागेको थियो । त्यसको भोलिपल्ट आजियटाले बेलायतमा दर्ता कम्पनी स्पेक्ट्रलाइटसँग खरिद–बिक्रीको सम्झौता भइसकेको भन्दै विज्ञप्ति नै जारी ग¥यो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस सम्बन्धमा एनसेलको जवाफ पर्खिरहेको बताए । 
दूरसञ्चार नियमावली–२०५४ को नियम १५ (ट) मा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । यसअघिका सेयर खरिद–बिक्री कारोबार लामो विवादमा परेपछि प्राधिकरणले तयार पारेको ‘नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद–बिक्री) विनियमावली–२०७६’ को विनियम ४ मा पनि अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो सेयरधनीको सेयर खरिद–बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने उल्लेख छ ।
सेयर खरिद–बिक्री सम्बन्धमा उद्योग विभागलाई पनि एनसेल आजियटाले जानकारी दिएको छैन । तथापि वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ को दफा १९ बमोजिम विदेशमा कारोबार भएको एक महिनाभित्र विभागलाई जानकारी गराउनुपर्ने प्रावधान भए पनि त्यसका लागि समय बाँकी नै रहेको विभाग स्रोत बताउँछ । ‘उनीहरू अहिलेसम्म विभागमा आएका छैनन्, हामीले पनि समाचारबाटै थाहा पाएका हौं । तर दफा १९ मै टेकेर खरिद–बिक्री गरेको दखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘विदेशमा कारोबार गरे तापनि नेपालमा त्यसको दस्ताबेजीकरण नभएसम्म वा उद्योग विभागले स्वीकृत नगरेसम्म त्यो वैध हुँदैन ।’
प्राधिकरणले भने एनसेलमार्फत आजियटालाई स्पष्टीकरण मागेको हुनाले अबका केही दिनमा एनसेलले आजियटालाई सोधेर प्राधिकरणलाई स्पष्टीकरण दिन सक्ने स्रोतको भनाइ छ । यससँगै आजियटाले आफूले किनेकोभन्दा एकतिहाइ कम मूल्यमा बेलायतको स्पेक्ट्रलाइटलाई बेचेको विषय पनि सामाजिक सञ्जालदेखि सार्वजनिक छलफलमा प्रश्न उठेका छन् । कतिमा खरिद–बिक्री भयो भन्दा पनि विद्यमान नियम–कानुनको पालना भए÷नभएकोमा खोजी हुनुपर्छ ।
एनसेल खरिदर्ता पहिलो कुरा त नेपाली नै हो भने विदेशमा लगानी गर्न वा कम्पनी खोल्न कसरी पायो ? नेपालको कानुनअनुसार त्यसो गर्न पाइन्न । नेपालमा आएर अर्को लगानी गर्न यहाँको सरकारले दिने व्यवस्था नरहेको र नेपालीले विदेशमा लगानी गर्न नपाउने व्यवस्था हुँदाहुँदै कसरी खरिद सम्भव भयो भन्नेमा प्रश्न उठेको छ ।
कुनै कम्पनीले आफ्नो सेयर घाटा खाएर बेच्छु भन्न पाउँछ तर सरकारको करलगायत सम्भावित आम्दानी गुम्ने अवस्था भए वा कानुनविपरीत देखिए सरकारले हेर्ने ठाउँ रहेको उनको बुझाइ छ । यद्यपि आजियटा र स्पेक्ट्रलाइटले सेयर स्वामित्व खरिद–बिक्रीमा सरकारलाई थोरै पुँजीगत लाभकर तिर्न न्यून मूल्य देखाएर कम्पनी बिक्री गरेको समेत अनुमान लगाउन गाह्रो छैन ।
एनसेलको सेयर स्वामित्व खरिद–बिक्रीसम्बन्धी प्रक्रियाको वैधानिकताबारे अदालतमा समेत प्रश्न उठाइएको छ । आजियटाको निर्णय सार्वजनिक भएलगत्तै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा उक्त निर्णयविरुद्ध अन्तरिम आदेशको मागसहित रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले आजियटा र निवेदक पक्ष दुवैलाई मंसिर २५ मा छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।
दुई महिनाअघि मात्रै एक डलरमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको हो । उक्त कम्पनी नेपाली मूलका सिंगापुरवासी सतीशलाल आचार्यका नाममा गत सेप्टेम्बर २६ मा दर्ता गरिएको छ । एनसेलको २० प्रतिशत सेयरको स्थानीय साझेदार सतीशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठ सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा छ । आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको विज्ञप्तिमार्फत जनाए पनि नेपाली सरकारी निकायलाई भने कुनै जानकारी दिइएको छैन ।
आजियटाले विज्ञप्तिमा आचार्यसमेतको उक्त कम्पनीले ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा सेयर खरिद गरेको घोषणा गरिएको छ । जबकि यो ८० प्रतिशत सेयर २०७२ सालमा आजियटाले १ अर्ब ३६ करोड अमेरिकी डलर (तत्कालीन विनियम दरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा टेलियासोनेरासँग खरिद गरेको थियो । यसअघि एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको कारोबार पनि विदेशमै भएको थियो ।
आजियताले टेलियासोनेरासँग १ खर्ब ५३ अबै रुपैयाँमा खरिद गरेको एनसेल कम्पनी केही वर्षमा नै कसरी यति ठूलो घाटा खाएर १ अब ४३ करोडमा स्पेक्ट्रलाइट कम्पनीलाई बेच्यो ? बिक्री गर्दा फाइदा हुने हिसावले मात्र विक्री वितरण गर्ने गरिन्छ । तर, एनसेलले सिधै राज्यलाई ठूलै राजश्व छल्ने नियतले कम रकममा विक्री वितरण गरेको देखाउँदै राजश्व छल्न लागेको स्पष्ट छ । 
एनसेल घाटामा नगएको एनसेलका कर्मचारीहरुले पाएको सेवा सुविधाबाट पनि प्रष्ट हुने गरेको छ । एनसेलले प्रत्येक कर्मचारीलाई ० प्रतिशत ब्याजमा १ करोड ऋण प्रवाह गर्दै आइरहेको छ । यति मात्र होइन उसले कर्मचारीहरुलाई प्रयाप्त सेवा सुविधाहरु दिँदै मनग्य आर्थिक उन्नति हुने र कर्मचारीहरुको मनाबल बढाउने काम गर्दै आइरहेको छ । यस्तो अवस्थामा एनसेल कसरी घाटामा गएको छ ? यसबाट पनि प्रष्ट हुन्छ एनसेलले ठूलै राजश्व छल्नको लागि यस्तो नाटक मञ्चन गरेको प्रष्ट हुन्छ । 

 

सम्बन्धित समाचार