काठमाडौं- नामिबिया सन् २०२४ को आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ। अफ्रिकी छनोट अन्तर्गत मंगलबार भएको खेलमा तान्जानियालाई ५८ रनले हराउँदै नामिबियाले विश्वकपमा स्थान बनाएको हो।
जितको लागि एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको तान्जानिया निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९९ रनमा समेटिएपछि नामिबिया छनोट भएको हो। तान्जानियाका लागि अमल राजिवनले ४५ रन बनाए तर जिताउन सकेनन्। तान्जानियालाई सस्तैमा समेट्न नामिबियाका कप्तान जेरार्ड इरास्मसले दुई तथा डेविड विजाले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिबियाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो। नामिबियाका लागि जेजे स्मिथले अविजित ४० रन बनाए। नामिबियाले छनोटको एक खेल अगावै विश्वकपमा स्थान बनाएको हो।