ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुरको चैत्र २५ गते भएको २६ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई बैशाख ११ गते शनिबार पद बहाली तथा गोपनीयताको सपथ ग्रहण गरिएको छ ।
सपथग्रहणपछि नव निर्वाचित कार्यसमितिको बैठक बसी अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने योजनासहित पहिलो कार्यसमितिको बैठकले निर्णय गरेको छ ।
शनिबार पदबहाली गरेपछी बसेको पहिलो बैठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाइ काम गर्ने निर्णय गरेको अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।
त्यसका लागि विज्ञ टोलि, महासंघका सल्लाहकार, तीन वटै निर्वाचन क्षेत्रका सांसद र जिल्लाका ६ वटै स्थानीय तहसंग सुझाव र सल्लाह लिएर कार्ययोजना बनाइएको छ । ’ललितपुर पत्रकार महासंघ शाखाले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने निर्णय पहिलो बैठकले गरेको छ,’ विज्ञ, जनप्रतिनिधि, सांसद र अनुभवी पत्रकारको सहयोग लिएर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी सोहि आधारमा काम गरिने निर्णय भएको छ ।
महासंघले जिल्लामा रहेका महिला पत्रकार र संचारगृहमा महिलाको सहभागिता र हालको अवस्था अध्ययन गर्ने निर्णय गरेको छ । यस्तै कोरोनाको कारण जिल्लाका संचारगृहमा कार्यरत पत्रकारले भोगेका समस्या र मिडियाको अवस्थाबारेको अध्ययन गरी प्रतिवेदन बनाउने निर्णय भएको छ । त्यसैगरी, ललितपुर पत्रकार महासंघले राजु बस्नेतको संयोजकत्वमा क्यालिन्डर प्रकाशित गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै पत्रकार महासंघ ललितपुरले जिल्लामा रहेका सबै सदस्यको डिजिटल प्रोफाइल बनाउने भएको छ । जिल्लामा ४ सय ५४ सदस्य रहेका छन । सदस्य कार्यरत मिडियासहितको डिजिटल प्रोफाइल बनाउन लागिएको हो ।
पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले राज्यसँग सम्झौता विहिन संघर्ष गर्ने बताए । अहिले ल्याइएका कतिपय विधेयक नेपालको संविधान विरुद्धमा रहेको भन्दै त्यसका विरुद्ध संघर्ष गरिने पनि सो पदबहाली कार्यक्रममा जानकारी गराउनुका साथै कोरोनाको कारण देखाउँदै मिडियामा कार्यरत पत्रकार निकाल्ने काम भए महासंघ चुप नबस्ने बताउँदै महासंघलाई एकेडेमीक रुपमा अगाडि बढाइने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोखरेलले बताए ।
सो कार्यक्रममा ललितपुर पत्रकार महासंघले जिल्लाबाट ४ दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गरेका प्रभुनारायण बस्नेत, डाक्टर अष्टमान किसी महर्जन, बटुकृष्ण कार्की, राधा बुढाथोकी, माधव नेपाललाई सम्मान गरेको थियो ।