काठमाडौं जिल्ला तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता सम्पन्न

18.3k Shares

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले खेलाडी छनौटको प्रतियोगिताहरु आयोजना गर्ने क्रममा आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमि कभर्डहलमा तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ ।
सो प्रतियोगिताको प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष, सुमेरु ग्रुपका अध्यक्ष तथा समाजसेवी भरत महर्जनले गर्नुभएको थियो । खेलाडी छनौट प्रतियोगितामा विजयी हुने खेलाडीहरुलाई प्रमुख अतिथि महर्जन तथा तेक्वान्दोका मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
सो खेलाडी छनौट प्रतियोगितामा पुरुषतर्फ ४३–४६ केजीमा सुजनले जैसीदेवलका निरज ठकुरी तथा शिवले अल्टिमेटका सुशान पाण्डेलाई फाइनलमा पराजित गरेका थिए । पुरुष ५४–५८ केजीमा लैनचौरका सिजन श्रेष्ठ, ४०–४३ केजीमा लैनचौरका स्विकार रजक, ४६–५० मा अल्टिमेटका अभिषेक दल्लाकोटी, ६३–६८ केजीमा कोटेश्वरका रन्जित साउद, ६८–७४ मा लैनचौरका नारायण बोगटी प्रथम भएका थिए ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको महिला ४०–४३ केजीमा लैनचौरकी दिया रजक, ४३–४६ केजीमा अल्टिमेटकी सुप्रिमा बज्गाईं, ५७–६२ केजीमा कोटश्वरकी सुस्मिता मोक्तान, ३७–४० केजीमा लैनचौरकी पुनम खत्री, ६२–६७ केजीमा ढल्कोका आरती मगर, ४६–४९ केजीमा लैनचौरकी सुमिना खड्गी, ४९–५३ केजीमा दीलिप स्मृतिकी अन्जली तामाङ र ५३–५७ केजीमा लैनचौरकी सारोन गुरुङले प्रथम स्थान हात पारेका थिए ।
छ महिनाको अवधिमा हुने विभिन्न प्रतियोगितामा काठमाडौं जिल्लाबाट सहभागी हुने खेलाडीको छनोट गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । हरेक प्रतिष्पर्धामा पहिलो हुने खेलाडी छनोट हुने प्रावधान छ ।

सम्बन्धित समाचार