चिया पसलदेखि वाणिज्यदूतसम्म

977.5k Shares

रमिता बस्नेत

संसारमै सफल व्यापारी, उद्योगी र समासेवीको सूचीमा हुनेहरुको कथा व्यथा हेर्ने हो भने उनीहरुको विगतको मेहनत, लगनशीलता, इमान्दारिता, विश्वास र निम्न आर्थिक स्थितिबाट माथि उठेको पाइन्छ ।

यस्तै उदाहरणको रुपमा ललितपुर जिल्लाको धापाखेल निवासी भरत महर्जनलाई लिन सकिन्छ । ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २३ स्थायी बासिन्दा भएका बाबु कुलबहादुर महर्जन र आमा चिरिमाया महर्जनको कोखबाट दुई दाजुभाई मध्ये भरत महर्जन कान्छा छोराका रुपमा जन्मिएका हुन् । जन्मँदै १७ रोपनी जग्गाको मालिक भएर जन्मिएको भरत महर्जन र उनलाई चिन्नेजान्नेहरुले बताउने गरेका छन् ।

महर्जनको परिवारको पुख्र्यौली किसानी पेशा भए पनि किसानी पेशा भन्दा सानै उमेरदेखि कक्षा ८ मा पढ्दापढ्दै व्यापार व्यवसाय गर्ने इच्छा राखी आफ्नै घरमा क्यारिमबोर्ड खेलाउने सोचले चिया पसल खोल्नु भएको थियो । महर्जनले बिहान चिया पसल र बेलुका नेवारी खाजा पसल २०४० सालमा नै सुरु गरी आफ्नो व्यापार व्यवसाय संचालन गर्नुभएको बताउनुहुन्छ । यस्तै क्रममा महर्जनले कक्षा १० पढिसकेपछि उनले आफ्नो चिया पसल र नेवारी खाजा पसललाई व्यवस्थितरुपमा निरन्तरता दिइरहनु भयोे ।

यो चिया पसल र नेवारी खाजा पसलबाट महर्जनको मेहनत, लगनशीलताले आर्थिकस्थित केही सुधार हुँदै गयो । त्यतिबेला हरिसिद्धि इट्टा टायल कारखानाबाट उत्पादन भएका इट्टा, टायललगायतका निर्माण सामाग्री सहजरुपमा खरिद गर्न सकिने अवस्था थिएन । हरिसिद्धि इट्टा टायल कारखानाबाट उत्पादन भएका इट्टा, टायललगायतका निर्माण सामाग्रीको लागि रकम डिपोजिट गरेको एक वर्षभन्दा अगाडिको रसिद हुनुपर्ने अवस्था थियो । त्यसलाई मध्यनजर गर्दै महर्जनले आफूले दैनिकरुपमा चिया पसल र नेवारी खाजा पसलबाट संकलन भएको पैसा हरिसिद्धि इट्टा टायल कारखानाबाट उत्पादित निर्माण सामाग्री खरिदका लागि हरिसिद्धि इट्टा टायल कारखानामा रकम डिपोजित गर्दै जानुभयो । यसरी हरिसिद्धि इट्टा टायल कारखानामा रकम डिपोजिट गर्ने काममा भोला खड्काका बुबा लक्ष्मण खड्काको सहयोगमा गर्दै आइरहनुभयो । यसरी डिपोजिट गरेको रकमका रसिद लक्ष्मण खड्काले बेलुका मेरो चिया पसल र नेवारी खाजा पसलमा ल्याइदिने गरेको पनि महर्जन बताउनुहुन्छ ।

हरिसिद्धि इट्टा टायल कारखानामा इट्टा टायल लिनको लागि १ वर्षभन्दा बढी पुरानो डिपोजिट रसिद हुनुपथ्र्यो । आफूले डिपोजिट गरेको रसिद एक वर्ष काटिसकेपछि बल्ल पालो आउने गथ्र्यो । आफ्नो पालो आएपछि आफूले हरिसिद्धि इट्टा टायल कारखानाबाट इट्टा, टायललगायतका निर्माण सामाग्री ल्याई सो इट्टा टायल त्यतिबेला सहजै चार दोब्बरले बिक्री वितरण गर्न सकिन्थ्यो । त्यसरी मैले डिपोजिट गरेको रकमबाट एक हजार टिप इट्टा तथा टायल लक्ष्मण खड्का (काका)को सहयोगमा मैले खरिद गरी विक्री वितरण गरेको महर्जन बताउनुहुन्छ ।

यसरी त्यसबाट भएको फाइदाबाट आफूले २०४५ सालमा जग्गा खरिद गरी घर निर्माण गरी गलैंचा कारखानालाई भाडामा दिई त्यस भाडाले आफ्नो घरखर्च, बच्चाहरुलाई स्कुल र कलेजसम्म पढाउनलाई मैले खासै अन्य कमाई गर्नु पर्ने अवस्था नभएको महर्जन बताउनुहन्छ । यहाँसम्म आउँदा आफ्नो आर्थिक उन्नतिमा विशेष गरी लक्ष्मण काकालाई धन्यवाद दिनुभएको छ महर्जनले । त्यसपछि आफूले यो काम खासै आफूलाई चित्त नबुझेकोले यसलाई त्यही विश्राम दिई पोल्ट्रीफार्म खोल्ने इच्छा जागेर आएपछि सुरुमा बोइलर र अण्डा पार्ने एक हजार कुखुरा पालेको महर्जनले बताउनुभएको छ ।

त्यसपछि महर्जनले कुखुरासँगै कस्मेटिक पसल, मेकअप, क्यासेटलगायत मिक्स पसल खोल्नुभयो । त्यसक्रममा असन गल्ली भित्रको पसलबाट सामान ल्याउने क्रममा आफूले सामान ल्याउने पसलका सहुजीसँग राम्रै सम्बन्ध भई साथी बनाउनु भयो महर्जनले । साहुजीको नाम थियो प्रकाश श्रेष्ठ । सामान लिन जाने क्रममा साहुजी श्रेष्ठले मलाई सल्लाह दिनुभयो तपाईं लगानी गर्नुस् म तपाईंलाई सहयोग गर्छु चाइनाबाट कस्मेटिक सामान ल्याउँ भनी प्रस्ताव राख्नुभयो ।  त्यसपछि उहाँकै सल्लाह अनुसार उहाँसँगै मिलेर चाइनाबाट कस्मेटिक सामानहरु ल्याई असन वरीपरीका होलसेलरहरुलाई सामान दिने गरियो । त्यसरी साहुजी अर्थात् साथी प्रकाश श्रेष्ठको सहयोगले धेरै नै फाइदा भएको महर्जन बताउनुहुन्छ । आफूलाई चाइनाबाट कस्मेटिक सामान ल्याउन सहयोगी भूमिका निर्वाह गर्नु भई मलाई राम्रो फाइदा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रकाश श्रेष्ठ पनि विशेष धन्यवादका पात्र हुनुहुन्छ महर्जनको ।

यस्तै व्यवसाय गर्ने क्रममा त्यति नै बेला बनस्थलीमा वि.एम. सप्लायर्स खोली निर्माण सामाग्रीहरु गिट्ट, बालुवा, इट्टा, रोडाढुंगा बिक्री वितरण गर्दा राम्रै फाइदा भएको महर्जन बताउनुहुन्छ । वि.एम. सप्लायर्समा आहोरात्र खट्ने झरी बादल नभनी मलाई सहयोग गर्ने राजु लामा भाई पनि धन्यवादका पात्र भएको महर्जनले बताउनुभएको छ ।

जतिबेला बि.एम. सप्लायर्स खोली व्यापार व्यवसाय गरे त्यतिबेला महर्जनले मनग्य आम्दानी गरिसकेका थिए । त्यसपछि महर्जनले अब नाफा मूलक व्यवसाय भन्दा पनि सेवामूलक व्यवसाय गरी देश, जनता र बैदेशिक रोजगारीका लागि विदेशिन लागेका युवाहरुलाई नेपालमै व्यापार व्यवसाय गर्ने उद्देश्यका साथ साथीभाईसँग सरसल्लाह गर्दा २०५७ सालमा सहकारी दर्ता गरी पुल्चोकबाट सहकारी सुरु गर्नुभयो ।

सहकारी त खोलियो तर यसबाट धेरै नै तनाव हुने जस्तो अवस्थादेखि बन्द गर्ने उद्देश्यले सो सहकारी धापाखेलमा आफ्नै घरमा महर्जनले सार्नुभयो । त्यसपछि साथीभाईहरुसँगको सरसल्लाह अनुसार आफूलाई पनि नाफामूलक भन्दा पनि सेवामूलक पेशा अप्नाउने इच्छा जागिरहेको अवस्थामा अल्का अस्पताल खोल्ने निर्णय गरियो । आफ्नो पनि छोराछारीलाई डाक्टर बनाउने सोच थियो । सोही अनुसार २०६२ सालमा पार्टनरमा अल्का अस्पतालमा महर्जनले लगानी गर्नुभयो । आफूलाई सेवामूलक पेशामा लाग्ने इच्छा र चाहना अनुसार यसमा लगानी गर्दा आफूलाई निकै सन्तुष्टि मिलिरहेको उहाँले बताउनुभयो । त्यतिबेला आफ्नो बालबच्चाहरुको खर्च र घर खर्चको लागि २०४७ सालदेखि घर भाडाबाट जिविका चलिसकेको थियो । काम छ भन्नको लागि अस्पतालमा पार्टनर भई काम गरिरहेको अवस्था थियो । त्यसको साथै आफूले सकुञ्जेल आफ्नै घरमा हार्डवेयर पसलमा संचालन गर्दै टाइमपास भइनै रहेको थियो भने अस्पतालमा लगानी गरेपछि भने त्यति धेरै फुर्सद भने नभएको महर्जन बताउनुहुन्छ ।

यसैक्रममा बन्द गर्न भनी धापाखेल सारिएको सहकारी साथीभाईहरुसँगको सरसल्लाह अनुसार राम्रोसँग चलाउने भन्दै भनिमण्डलमा सारियो, सोही क्रममा फेरि पुल्चोक सारियो । त्यसपछि सहकारीले राम्रो गति लियो र साथीभाईहरुकै सरसल्लाह अनुसार आफूलाई पनि सेवामूलक पेशा मनपर्ने भएकै कारणले सुमेरु सहकारीले आफ्नै अस्पताल, कलेज खोली समाजमा सकारात्मक सन्देश दिनुपर्छ भनी धापाखेल अस्पताल, सुमेरु सिटी अस्पताल, एशियन कलेज, शंकरापुर कलेजलगायत सेवामूलक संस्थामा लगानी गरी एउटा प्रतिष्ठित संस्थाको रुपमा लान सफल भएको महर्जनले बताउनुभएको छ ।

लामो समय आफ्नो अथक प्रयास, मेहनत, इमान्दारिता र जनताको विश्वास जितिसकेका भरत महर्जनले अब आफूले नै श्रृष्टि गरेको संस्थालाई अझ जनताको विश्वास जित्न सकुन् र सर्वसाधारणको माझ विश्वसनियता कमाउन सकोस् भन्ने उद्देश्यका साथ २०७५ सालदेखि सहकारी, अस्पताल र कलेज साथीहरुलाई जिम्मा लगाई सातदोबाटोमा घर भाडामा लिईं अल्का साकोस्, खोजतलास मिडिया प्रा.लि.  र सुमेरु ग्रुप मै समय विताई रहेको महर्जनले बताउनुभएको छ । महर्जनले स्थापना गरेको सबै कम्पनीको २० प्रतिशत मात्र आफ्नो शेयर राखी ८० प्रतिशत शेयर साथीभाईहरुलाई दिई विशुद्धरुपमा आफू समाजसेवामा समर्पित हुँदै आइरहनुभएको छ ।

महर्जनले गर्नु भएको समाज सेवाको क्रममा सुमिङ पुल अगाडि नेपाल प्रहरीको लागि भवन निर्माण, सातदोबाटो चोकमा ट्राफिक भवन निर्माण, जाइकाको सहयोगमा श्री कृष्ण माध्यमिक विद्यालय भवन निर्माण, ललितपुर महानगरपालिकाको २३ नम्बर वडा कार्यालय भवन आफू अध्यक्ष भई आफ्नै समितिहरुको सहयोगले गरिएको निर्माणलगायत अन्य मठमन्दिर र खेकुदमा पनि आफूले सक्ने सहयोग गर्दै आइरहेको बताउनुभएको छ ।

महर्जनको यस्तो पुण्य कामको चौतर्फीरुपमा प्रशंसा भइरहेको र विभिन्न संघसंस्थाहरुको सम्मानको ओइरो आइरहेको अवस्थामा नेपाल सरकारले पनि त्यसको मूल्यांकन गरी राष्ट्रपतिको हातबाट सम्मान पनि गरेको थियो । यतिले मात्र नभई महर्जनको समाजसेवी भावनादेखि त्यसको मूल्यांकन गरी फेरि नेपाल सरकारको सिफारिसमा सन् २०२२ देखि २०२५सम्मको लागि बोत्स्वाना देशको अवैतनिक वाणिज्य दूत जस्तो गरिमामय पदको पनि जिम्मेवारी पाउनुभएका महर्जन भन्नुहुन्छ ‘आफूले समाजका लागि जति जे काम गरियो त्यसबाट आफूलाई सन्तुष्टि मिलेको र अब उपरान्त कुनै पनि जिम्मेवारी पदमा नबस्ने र अधिकार पनि नलिने निर्णय गरेको छु, आँखिर जति जे गरे पनि नपुग्ने रहेछ’ त्यसैले मैले ४० वर्षसम्म पैसा, धन, सम्पत्ति, मान सम्मानको लागि मात्र काम गरियो । अबका दिनमा वृद्ध—वृद्धा, असहाय र गरिब जनताको सेवा गरी त्यस वडामा बस्ने व्यक्तिहरुलाई ज्ञान र ध्यानी बनाउने प्रयासमा लाग्ने उहाँ बताउनुहुन्छ ।

आफू अहिले बिदेशमा बस्नुको मुख्य कारण भनेको छोरा छोरी विदेशमै भएको र छोेराछोरी डाक्टर भएको कारण श्रीमतीको उपचारमा पनि केही सहज हुने भएकै कारणले पनि विदेशमा बस्नुपर्ने अवस्था आएको महर्जन बताउनुहुन्छ । छोराछोरीको पढाई बाँकी भएको र श्रीमतीको पनि उपचार गर्नुपर्ने भएका कारण केही समय विदेश बस्नुपर्ने अवस्था छ । छोराछोरीले विदेशमा हासिल गरेको शिक्षा, ज्ञान र सिप आफ्नै देश नेपालमा नै प्रयोग गर्ने उद्देश्यका साथ हाल विदेशमा बसिरहनु भएका महर्जन चाँडै नै छोरा छोरीलाई सँगै लिएर नेपाल आउने तरखरमा रहेको बताउनुहुन्छ ।

महर्जन बताउनुहुन्छ ‘४० वर्षमा कमाएको धन, सम्पत्ति र बुबाबाट पाएको सम्पत्ति नेपालमा नै छोडी आएको छु । चाँडै नै छोराछोरीहरुलाई लिएर नेपाल फर्किने छु । विगतमा आफुले गरेका समाजसेवाको कामबाट आत्म सन्तुष्ट मिलेको र २३ नम्बर वडा कार्यालय, पुलिस भवन, ट्राफिक भवन, स्कुल, मन्दिर आदिलाई हेरेर आनन्दको महशुस गरी अब म एक साधारण नागरिक भएर बाँच्ने छु ।’

bharat dai 1111.jpg

सम्बन्धित समाचार