काठमाडौँ । निजी प्राविधिक शिक्षालय सञ्चालकले चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा भएको केही प्रावधानलाई संशोधन गर्न माग राखेका छन् । सो ऐन तथा नियमावली एवं चिकित्सा शिक्षासँग सम्बन्धित समस्या सम्बोधन हुनुपर्ने माग गर्दै उनीहरु धर्नामा समेत बस्दै आएका छन् ।
ती मागको विषयमा सरकारसँग पटक पटक छलफल भए पनि सहमति भने हालसम्म भएको छैन । चिकित्सा शिक्षा ऐन तथा नियमावलीलाई संशोधन गर्नुपर्ने, नर्सिङ शिक्षामा देखिएको समस्या समाधान गर्नुपर्ने, नर्सिङ कलेज सञ्चालनका लागि एक सय शय्याको अस्पताल हुनुपर्ने व्यवस्थामा परिमार्जन गर्नुपर्ने लगायतको मुख्य माग उनीहरुको रहेको छ ।
सो ऐन तथा नियमावलीमा भएको व्यवस्थाले मुलुकभरका केही नर्सिङ तथा अन्य शैक्षिक संस्था बन्द हुँदा अर्बौ रुपैयाँ लगानी डुबेको आन्दोलरत शिक्षालय सञ्चालकको भनाइ छ । विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका शिक्षालयलाई चिकित्सा शिक्षा ऐन तथा नियमावलीले अप्ठ्यारोमा पारेको सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले जानकारी दिए ।