ज्ञानै नभएको मन्त्रीका कारण खेलकुद क्षेत्र तहसनहस पारिँदै ः माननीय महर्जन

20.9k Shares

ललितपुर । बागमती प्रदेश सभा सदस्य माननीय मीन कृष्ण महर्जनले बागमती प्रदेश सरकारको नेतृत्व गरेका मन्त्रीहरुलाई प्रदेश सभाको बैठकमा कटाक्ष गरेका छन् ।
महर्जनले प्रदेश सभा बैठकमा मन्त्रीहरुले कसैलाई मान्छे नगन्ने, नमस्कार गर्दासमेत नदेखेको जस्तै गरी आफूलाई जंगबहादुर नै जस्तो गर्ने व्यवहार गरेको बताएका थिए । महर्जनले बोल्ने क्रममा बागमती प्रदेशका प्रायः जिल्लाहरुमा राम्रो बजेट निकासा भए पनि ललितपुर र भक्तपुरमा भने खासै बजेट विनियोजन नभएको जनाएका छन् ।
सम्बोधकै क्रममा सम्बन्धित क्षेत्रको विज्ञलाई सोही क्षेत्रको मन्त्री बनाएको भए मन्त्रीहरुको यस्तो व्यवहार नहुनेमा पनि जोड दिएका थिए । कुन क्षेत्रमा कसको विज्ञता छ सोही अनुसार मन्त्री बनाइएको भए सो क्षेत्रको विकास गर्नुका साथै विकृतिहरुलाई हटाउँदै जाने थिए । तर, बागमती प्रदेशमा मन्त्री छनौट गर्दा मनलाग्दी मन्त्री बनाउँदा अहिले विज्ञता नै नभएको क्षेत्रको मन्त्री बन्नेहरुले कसरी काम गर्नुपर्छ भन्नेसम्म ज्ञान छैन । 
माननीय महर्जन भन्छन्, ‘कोही मन्त्री यस्ता पनि छन्, जो आफूलाई जंगबहादुर ठान्छन् ! हेक्का रहोस् ती मन्त्री हामीले मत दिएर मन्त्री भएका हुन्, अब यस्तो मन्त्रीको शासन चल्दैन भन्दै रोष्टममै आक्रोस पोखेका थिए । माननीय महर्जनको पृष्ठभूमि खेलकुद क्षेत्र भएको कारण खेलकुद मन्त्रीले बागमती प्रदेशमा खेलकुद विकासको लागि कुनै योजना र भिजनसमेत ल्याउन नसकेको आरोप लगाएका थिए । खेलकुदको ज्ञान नै नभएको व्यक्तिलाई खेलकुद मन्त्रीको जिम्मेवारी दिएर खेलकुद क्षेत्र नै तहसनहस गर्न खोजेको उनले अक्रोस पोखेका थिए । महर्जन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडीका साथै राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्षसमेत भइसकेको व्यक्ति हुन् । माननीय मीनकृष्ण महर्जन ललितपुर क्षेत्र नं. १ ‘ख’बाट प्रत्यक्ष निर्वाचित माननीय सभासद हुन् । 
बागमती प्रदेश र संघीय राजधानी काठमाडौंसँग जोडिएको ललितपुर जिल्ला विकासको हिवासले दोस्रो कर्णालीको रुपमा परिचित छ । अहिले वर्षाका कारण बाटोघाटो, खानेपानी, विजुली नहुँदा स्थानीय जनता समस्यामा परेका छन् । बाटोघाटोको समस्याका कारण विद्यार्थीहरु पढ्न जान घण्टौं लाग्ने र स्कुल चुहिएर पढ्नसक्ने अवस्था समेत नभइरहेको अवस्थामा यसतर्फ प्रदेश सरकारले बजेट विनियोजन गर्दा पूर्वाग्रही हिसावले खासै बजेट विनियोजन नगरेको समेत सम्बोधनका क्रममा बताएका थिए । 

सम्बन्धित समाचार