कांग्रेस सभापतिमा प्रकाशमान बलियो दाबेदार

17.3k Shares

काठमाडौं । नेपाली काँग्रेसको अबको नेतृत्वमा नयाँ नेताको खोजी भएको छ । वर्तमान सभापति शेरबहादुर देउवा काँग्रेसको इतिहासमै निरिह नेता बनेपछि नयाँ नेताको खोजी भएको हो ।
देउवा प्रमुख प्रतिपक्षी दलका नेताको भुमिका समेत निभाउन असक्षम भएका छन् । उनी नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगीको भुमिका निभाइरहेको स्वयं नेकपा वृत्तमा चर्चा छ । देशमा ओली सरकारको गलत कार्यशैलीको समेत देउवा मुकदर्शक बनेका छन् । उनी ओलीका कतिपय नकारात्मक गतिविधिको सहयोगी बन्दै आएका छन् । 
काँग्रेस कमजोर बन्दै गएपछि नयाँ नेतृत्वको खोजी हुनथालेको छ । देउवा पक्षधरले समेत उनको विकल्प खोज्न थालेका छन् । काँग्रेसभित्र अबको नेतृत्वको दाबेदारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कोइराला परिवारबाट महामन्त्री डा. सशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला छन् । यी नेतामध्ये पौडेल र सिटौला गएको महाधिवेशनमा देउवासँग पराजित भएका हुन् । कोइराला परिवारमा पनि तीनजना कोइरालाबीच मेलमिलाप छैन । विगतमा डा. सशांकसँग सुजाता र डा. शेखरको दुरी रहेकोमा पछिल्लो समय तीनजना तीनतर्फ छन् । उनीहरू एकजुट नभएकाले यसपटक कोइराला परिवारबाट पनि सम्भावना कमजोर भएको छ । विमलेन्द्र निधि काँग्रेस नेतृत्वमा पुगिहाल्ने सम्भावना फितलो छ । उनी कोइराला परिवार र प्रकाशमान सिंहको साथ पाए जित्ने दाबी गर्दै सक्रिय छन् । तर, उनी स्वीकार्य भइहाल्ने सम्भावना कमजोर छ । 
काँग्रेसले नयाँ नेतृत्व खोजी गरिरहेको र सबैलाई मिलाउन सक्ने जुझारु नेताको खोजी गर्दै जाँदा दोस्रो पुस्ताका अधिकांशले प्रकाशमान सिंहको नाम लिन थालेका छन् । सिंहको व्यक्तिगत छवि पनि स्वच्छ छ । उनी पार्टी विधि र प्रक्रियामा विश्वास गर्ने नेता हुन् । काँग्रेसको इतिहासमा पहिलो निर्वाचित महामन्त्री सिंहलाई पछिल्लो समय उदीयमान नेताहरूको समर्थन बढ्दै गएको छ । काँग्रेसका नेताहरू गगन थापा र प्रदीप पौडेल पनि प्रकाशमानप्रति सकारात्मक छन् । दुवै यसअघि सिटौला पक्षका थिए । राजनीतिक लेनदेन मिलेमा सिंहलाई निधिले पनि समर्थन गर्ने सम्भावना छ । वरिष्ठ नेता रामचन्द्र पौडेल आफू सभापतिमा नउठ्ने अवस्था बनेमा सिंहलाई समर्थन गर्ने पक्षमा रहेको बुझिएको छ । 
प्रकाशमान सिंहको राजनीतिक सक्रियता पनि ह्वात्तै बढेको छ । लामो समय मधुमेहबाट अस्वस्थ सिंह अहिले निकै स्वस्थ भएका छन् । उनले तौल समेत घटाएर औषधीविनाको अनुशासित जीवनयापन गर्न थालेका छन् । नयाँ ऊर्जाका साथ प्रस्तुत भएपछि काँग्रेस नेता कार्यकर्ताको ठुलो पंक्ति सिंहलाई पार्टी नेतृत्व लिन तयार हुनुपर्छ भन्न थालेका छन् । देशभरका कार्यकर्ताको चाहना बुझेर सिंहले सबै तह र तप्काका पार्टीका नेता कार्यकर्ता देखि सुभेच्छुकसँग परामर्श गर्दै आएका छन् । सिंहले पनि पिता गणेशमान सिंहले गरेको त्याग सम्झँदै अब देश र काँग्रेस पार्टीको हितमा सशक्त रुपमा प्रस्तुत हुने दृढता व्यक्त गरिसकेका छन् । उनको दृढता र निडर शैलीले भावी सभापतिको सशक्त दाबेदार देखिएका छन् । कुनै बेला उनका पिता गणेशमान सिंह सर्वमान्य नेता भएजस्तै यसपटक सिंह काँग्रेसभित्र सर्वसम्मत सभापति बन्ने महोल पनि विकास हुँदै गएको छ । यसपटक सिंह कुनै हालतमा पछि नहट्ने गरी बढेपछि उनी बलियो बन्दै गएका हुन् ।                 

सम्बन्धित समाचार