वीरको आन्दोलन अझै रोकिएन

19.2k Shares

काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले माग पूरा नभएसम्म बिहीबारदेखि न्याम्स पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाउने कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरु मंसिर ४ देखि १२ गतेसम्म पदाधिकारीहरुलाई अस्पताल प्रवेशमा निषेध गराउनेदेखि तालाबन्दीसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
चैतदेखि हालसम्मको कोभिड भत्ता नपाएको, औषधि खरिद खर्च, सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नपाएको भन्दै स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुले हरेकदिन एक घण्टा हातमा कालोपट्टी बाँधेर अस्पताल परिसरमा धर्ना दिँदै आएका छन् ।
तर माग सम्बोधनका लागि अस्पतालका पदाधिकारीले पहल नगरेपछि कात्तिक २५ गते उनीहरुले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई  माग पूरा नगरिदिन पहल गरेका थिए । तर त्यो आश्वासन पनि पूरा हुन सकेन। त्यसैले आन्दोलनका नयाँ कार्यक्रम थप गरेको वीर अस्पताल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुबराज आचार्य बताउँछन् । आज (मंसिर ४ गते) देखि वीरमा न्याम्स पदाधिकारी अस्पताल प्रवेश निषेधको कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन्। यो क्रम मंसिर १२ गतेसम्म चल्ने आचार्यले बताए ।
यसैबीच वीर अस्पतालका कर्मचारीहरुको आन्दोलनप्रति बुधबार स्वास्थ्यका १६ वटा राष्ट्रिय ट्रेड युनियन तथा पेसागत संघ-संगठनले ऐक्यबद्धता जनाएका छन् ।
ऐक्यबद्धता जनाउनेमा नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाललगायत छन्।
यता, अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार न्याम्सका कर्मचारीहरुलाई हरेक वर्ष औषधि खरिद खर्च भनेर एकदेखि डेढ महिनासम्मको तबल दिने गरेकामा योपटक कोभिडले गर्दा अस्पतालको आम्दानी कम हुँदा तलब व्यवस्थापनमा मुस्किल परेको अवस्था छ । न्याम्सका कर्मचारीलाई अस्पतालको आम्दानीबाटै खुवाउनुपर्ने हुन्छ, तर आम्दानी छैन् यदि स्वास्थ्य मन्त्रालयले  निकासा गरे मात्र दिन सकिने उनको तर्क छ ।
उनले भने, “स्वास्थ्य तथा मन्त्रालयले कोभिड भत्ता निकासा गरेको छैन जसले गर्दा समयमा दिन सकिएको छैन  तर कर्मचारीलाई निकासा हुनेबित्तिकै हामी दिन्छौँ ।”

सम्बन्धित समाचार