सडक निर्माण नहुँदा सुनाकोठीका बासिन्दा फेरि आन्दोलित

18.5k Shares
ललितपुर । ललितपुरको सुनाकोठी-चापागाउँ सडक निर्माण वर्षौंदेखि लथालिंग भएपछि सुनकोठीका स्थानीयहरु फेरि आन्दोलित भएका छन् ।
वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्यले गर्दा अनेक कष्ट सहनुपरेकाले कोरोना महामारीको पर्वाह नगरी स्थानीयहरु सडकमा उत्रिएका हुन् । सडक निर्माण नहुँदा धुलोले त्यहाँका स्थानीयको जनजीवन निकै प्रभावित बनेको छ ।
लामो समयदेखि सडक कालोपत्र गर्न माग गर्दै आए पनि कालोपत्रे नभएको भन्दै स्थानीयले अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । स्थानीयको विरोधपछि चापागाउँ जाने दोबाटो हुँदै चल्ने गाडीलाई सातदोबाटो हुँदै धापाखेलबाट डाइभर्ट गरिएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म सवारी बन्द गरेको स्थानीयले बताए ।
सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड विस्तार गर्ने भन्दै भत्काएर अलपत्र छाड्दा धुलो र हिलोले आफूहरु पीडित भएको सुनकोठीका बासिन्दाले बताएका छन् । तर ठेकेदारले वर्षौंसम्म सडक अलपत्र छाडेपछि स्थानीयले असारमा सडक नै अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । पछि सडक खुलाउने विषयमा सहमति भएपनि हालसम्म सडक निर्माण हुन सकेको छैन ।
त्यसबेला तत्कालै सडक कालोपत्र गर्ने सहमति भए पनि काम नभए पछि फेरि आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । सांकेतिक विरोधस्वरुप बाजा बजाएर उनीहरुले बिहानैदेखि सडक अवरुद्ध गरेका छन् । नेवाज् क्लब र स्थानीयहरुले संयुक्तरुपमा सडक बनाउन आन्दोलन गरेका हुन् ।
ललितपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक निर्माणको ठेक्का ६ वर्ष अघि नै जिम्मा लिएको सैलुङ्ग कन्स्ट्रक्सनका ठेकेदारले पटकपटक वचन दिए पनि काम नगर्दा समस्या भएको हो । सातदोबाटोबाट चापागाउँसम्म दायाँबायाँ ११-११ मिटर गरी फराकिलो सडक बनाउने गरी ठेक्का भएको थियो ।
अब सहमति नगर्ने र तुरुन्तै काम सुरु गरेको अवस्थामा मात्रै सडक खोलिने स्थानीय बासिन्दाले अडान लिएका छन् ।
सम्बन्धित समाचार