पर्सादेखि काठमाडौ सम्म तस्करीको सन्जाल, प्रहरीकाे सेटिङले तस्करी माैलायाे

15.2k Shares

काठमाडौं । राजस्व असुली घट्दै गएर कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने दिशातिर देश जाँदै छ । तर, तस्करीको सञ्जाल भने बढ्दै गएको छ । विशेषगरी भारतसँग सीमा जोडिएका कोसी, मधेस र लुम्बिनी प्रदेशबाट तस्करी बढिरहेको छ भने भन्सार राजस्व घटिरहेको छ ।

यस्तो तस्करीको सञ्जाल प्रहरीसँगै जोडिन पुगेको छ । मुख्यगरी मधेस प्रदेशका पर्सा, बारा, रौतहट हुँदै बागमतीको मकवानपुर र चितवनका प्रहरीको ‘सेटिङ’मा दैनिक करोडौंका तस्करीका सामान निर्वाध रूपमा राजधानी काठमाडौंसम्म आइपुग्ने गरेको आरोप छ । चीनबाट काठमाडौंमा अवैध रूपमा भित्र्याइएको सुनदेखि स्याउसम्म भारतमा तस्करी हुँदै आएको छ । यतिसम्म कि चीनमै बनाइएको भारतकै नक्कली डाबर लाल दन्तमञ्जन, फेयर एन्ड लभ्लीसमेत तस्करीको माध्यमबाट रक्सौल हुँदै विभिन्न सहरमा पुग्ने गरेको छ ।

चीनको केरुङबाटै रासायनिक मल तस्करीकै माध्यममबाट नेपाल भित्रने र सडक मार्गबाटै भारतसम्म लाने गरिएको छ । तर, नाकानाकामा प्रहरी भए पनि तस्करीको मल निर्वाध रूपमा भारतबाट चीनतर्फ जाने गरेको स्रोत बताउँछ । देशभर तस्करी बढ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत चिन्तित बनेको छ । आयोगमा प्रहरी र सशस्त्रको संरक्षणमा भइरहेको तस्करीको बारेमा गतसाता छलफल भएको थियो ।

‘अर्थमन्त्रालयले मधेस, कोसी र लुम्बिनी प्रदेशमा बढ्दो भन्सार छली चोरी तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराए पनि नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले चासो नै देखाएका छैनन्’, अर्थमन्त्रालयकै एक उच्च अधिकारी भन्छन्, ‘सिंह आइजिपी भएको ११ महिनामा राजस्व असुलीको दररेट हेर्ने हो भने पनि तस्करीको भयावह रूप देखिनेछ ।’ उनले थपे, ‘यस्तो डरलाग्दो तस्करीलाई नियन्त्रण गर्न नसक्ने हो भने देशको राजस्व असुलीको अवस्था थप दर्दनाक हुनेछ ।’

तस्करीमा सशस्त्र प्रहरीको पनि मिलेमतो रहेको पर्सा, बारा, रौतहट, महोत्तरीका नवलपरासी र बाँकेका गण प्रमुखहरूलाई छानबिनका लागि तानिएबाट पनि पुष्टि हुन्छ । तस्करीको यो सञ्जाल नेपाल प्रहरीको उच्चतहबाटै संरक्षित रहेको स्रोतको दावी छ । स्रोतका अनुसार प्रहरीको उच्च तहबाटै पर्सामा इन्स्पेक्टर विदुर शिवाकोटी, बरिष्ठ प्रहरी नायब निरीक्षक(सई) विनोद सिंह, बारामा सागरशमशेर राणा, मकवानपुर र चितवनमा हवल्दार सुरेन्द्रकुमार साहले सेटिङ मिलाउने गरेका छन् । सिंह, राणा र साह जागिरमा प्रवेशदेखि नै पर्सा, बारा र चितवनमा कार्यरत छन् ।

दर्जाले हवल्दार भए पनि सुरेन्द्रकुमार साह चितवन र मकवानपुर दुवै जिल्लाका प्रहरी प्रमुख मात्र होइन, प्रदेश हुँदै प्रहरी मुख्यालयको उच्चतहसम्मै सेटिङ मिलाउन सक्षम मानिन्छन् । वीरगञ्जबाट शिवाकोटी र विनोद सिंहको सेटिङमा छाडिएका सामान बाराका कुनै पनि ठाउँमा समाउन नसक्ने व्यवस्था सागर राणाले मिलाउने गरेका छन् । विदुर शिवाकोटी, विनोद सिंह र सागर राणा आइजिपी धीरजप्रताप सिंहकै दूतका रूपमा कार्यरत भएकाले उनीहरूलाई जिल्लाका एसपी कोमलविक्रम शाह र होविन्द्र बोगटीले चाहेर पनि केही गर्न नसक्ने स्रोतको दावी छ । तस्करहरूले माथि नै सेटिङ गरी सधैँ बारा–पर्सामा सिंह र राणालाई राख्न सफल भएको बताइएको छ । यही सञ्जालका कारण अवैध रूपमा नेपाल भित्र्याइएको मालसमान विनाचेकजाँच सजिलै मुलुकको राजधानी काठमाडौंसम्म पुग्ने गरेको छ ।

हवल्दार साह नौ वर्ष मकवानपुरको पशुपतिनगरस्थित रातमाटे चेकपोस्टमा कार्यरत रहेका थिए । जुन नाकामा बस्ने क्रममा उनलाई तस्करीको नेटवर्क, तस्करीमा प्रयोग हुने ट्रान्सपोर्टहरूको नालीबेली थाहा थियो । लागूऔषधसमेत भारततर्फ जाने गरेको रातमाटे चेकपोस्टमा कार्यरत रहेका उनले तस्करीको नेटवर्क सञ्चालन गरेको बारेमा धेरै गुनासा आएपछि तत्कालीन आइजिपी शैलेश थापा क्षेत्रीले उनलाई तानेर १ नम्बर गण टंगालमा कारबाहीस्वरूप १५ दिन राखी गोरखामा सरुवा गरेका थिए ।

गोरखामा सरुवा भएका साह दिवेशकुमार लोहनी गण्डकीको डिआइजी हुँदा च्यानल लगाएर नवलपरासीको इलाका प्रहरी कार्यालय गैडाकोटमा सरुवा मिलाउन सफल भए । पछिसेटिङ मिलाएर दुई वर्षदेखि पुनः जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा मिलाएर आए । चितवनमा यसअघिका एसपी नवराज अधिकारीसमेत उनलाई घुमुवाका रूपमा राख्न वाध्य भएका थिए भने नयाँ एसपी रामेश्वर कार्कीले पनि उनलाई घुमुवामै राखिरहेका छन् । वर्तमान एसपी जानासाथ उनलाई पनि काम गर्नसक्छ भनेर देखाउन साहले सुन बरामद गरेर देखाइसकेका छन् ।

सुन तस्करीको सञ्जालबारे सबै जानकारी सुरेन्द्र साहलाई छ । वीरगञ्जका खुंखार सुन तस्कर राजु दारुका (जो ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा समेत पक्राउ परेका थिए) उनीसँग पनि हवल्दार साहको कनेक्सन रहेको बताइको छ । सुरेन्द्रले सुन बरामद गरी तस्करीमा संलग्न तीन भारतीय नागरिकालाई पक्राउ गरी हालका चितवनका एसपी रामेश्वर कार्कीको मनसमेत जित्न सफल भएका छन् । साहको सक्रियतामा यही फागुन १७ गते करिब १ करोड १० लाख मूल्य बराबरका सुनका गरगहना बरामद गरिएको थियो । राजु दारुकाकै सूचनामा साहले उक्त सुन बरामद गरेको समेत चर्चा हुने गरेको छ ।

हरेक एसपी आउनासाथ उनले एउटा एउटा चर्चामा आउने काम गरेर मन जित्ने र उनको कार्यकालभरी तस्करीको नेटवर्क निर्वाध सञ्चालन गर्ने गरेको उनलाई नजिकबाट चिन्ने प्रहरीहरू बताउँछन् । यसअघिका एसपी नवराज अधिकारी चितवनमा सरुवा भएको केही दिनमै उनले तीन ट्रक तस्करीको कपडा बरामद गरी काम देखाएका थिए । तर, अधिकारीको कार्यकालभरी छिटपुटबाहेक फेरि ठूलो मात्रामा तस्करीको कुनै सामान बरामद भएन ।

चितवन मात्र होइन, साह मकवानपुरका एसपी वामदेव गौतमका पनि विश्वासिला मानिन्छन् । गौतमको समेत मन जितेर तस्करीको सञ्जालबाट दररेट उठाउने काम पनि उनैले गर्दै आएको आरोप छ । उनले अप्रत्यक्षरूपमा गौतमको घुमुवाको काम पनि गर्दैै आएका छन् । गौतम यसअघि मकवानपुरमा १८ महिना डिएसपी हुँदा साहको तस्करसँगको नेटवर्कबारे जानकार भएकाले एसपीमा जानासाथ बामगती प्रदेशका तत्कालीन डिआइजी किरण बज्राचार्यलाई हवल्दार साहलाई सरुवा गरिदिन अनुरोध गरेका थिए । तर, बज्राचार्यले सुरेन्द्र यसअघि नौ वर्ष बस्दा बदनाम भएको र धेरै उजुरी परिसकेको अनि एकपटक कारबाहीस्वरूप सरुवासमेत भएको भन्दै सरुवा गर्न अस्वीकार गरेकी थिइन् ।

हवल्दार साहको पहुँच बागमती प्रदेशका डिआइजी तथा भावी आइजिपीका दाबेदार दीपक थापासँग त झन् कसिलो रहेको बताइन्छ । थापा चितवनको एसपी हुँदा साह घुमुवाका रूपमा कार्यरत थिए । चितवन र मकवानपुरका एसपीको मन जितेका उनलाई डिआइजी थापाको समेत उत्तिकै साथ र सहयोग रहेको छ ।

सम्बन्धित समाचार