काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर मनाइएको छ ।
गत वर्ष भदौ २३ गते भएको जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा जेन-जी सहिद दिवस मनाइएको हो ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले जेन-जी सहिद दिवस मनाउने निर्णय गरेको थियो ।
भ्रष्टाचार नियन्त्रण, राजनीतिक जबाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता हुनुपर्ने माग राख्दै भएको जेन-जी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए भने सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो ।
जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद परिवार कल्याणकारी समाजले काठमाडौंको नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
सो क्रममा आफन्तहरू भावुक बने भने, धेरैका आँखाबाट आँसु बगे ।
कार्यक्रममा गृहमन्त्रीसहित सरकारका मन्त्रीहरू लगायत जेन-जी सहिद परिवारहरूको उपस्थिति रहेको थियो । जेन-जी सहिद परिवारहरूले जेन-जी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्न माग गरेका थिए ।