बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ । ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो ।
सुदूरपश्चिमा ‘हरेलो’, ‘विरिजात’ र विर्सती मेलालाई साँस्कृतिक पर्वका रुपमा धारण गरिन्छ । मेलामा युवाहरूको आकर्षण घट्दै गएपछि उनीहरूलाई संस्कृति सँग जोड्ने उद्देश्यले यहाँका स्थानीय निकायले भलिबल प्रतियोगिताको आयोजना अनिवार्य गरेका छन् ।
कुनै समय जात्रा र मेला भन्नासाथ देउडा, स्थानीय नाचगान तथा सन्देशमुलक सडक नाटकमा आकर्षण हुने बझाङगीहरु अहिले भलिवल खेलप्रति आकर्षण भएका छन् ।
स्थानीय युवादेखि शिक्षक, कर्मचारी र विभिन्न संस्थामा आबद्ध व्यक्तिसम्म प्रतियोगितामा सहभागी हुन थालेपछि बझाङका मेला–जात्रा केवल मनोरञ्जन र धार्मिक गतिविधिमा सीमित नरही खेलकुद र सामाजिक एकताको थलो बन्दै गएको छ ।
पछिल्ला दुई सातामा चार ठूला खेलले भलिबलमय मेला बनेका छन् । यहि भदौ ७ गते मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५० औँ जन्मजयन्ती थियो । सोही अवसरमा जयपृथ्वी बहुमुखी क्याम्पस, भोपुरले ‘जयपृथ्वी भलिबल कप–२०८३’ आयोजना गर्यो ।
चौतीस टोली मैदानमा उत्रिए । विजेताले रु एक लाख १०५ नगदसहित ट्रफी प्राप्त गरे । उपविजेतालाई ६० हजार १०५ प्रदान गरियो । जयपृथ्वी भलिबल कप सकिएको भोलिपल्टै सुर्मा गाउँपालिमामा लाग्ने सुर्मादेवी विरिजात सुरु भयो ।
मेलामा सधैँ आकर्षक भइरहने फाग, माङ्गल नाच यो पटक भलिबलले ओझेलमा पा¥यो । खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताले मैदानमा दर्शक झुम्मिन थाले । मूल पूजा हुने पाँकरजडीमा समेत श्रद्धालु पातलिए ।
रु एक लाख ३५ हजार पुरस्कार राखेको पुरुष भलिबलमा ३५ टिम सहभागी भए । रु ६५ हजार महिलाको पहिलो पुरस्कारका लागि दर्जन बढी टिम सहभागी थिए । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विरिजातमा देउडा, नृत्य, झाँकीसँगै ठाँकनाच प्रतियोगितासमेत गरिएको थियो । गएको शनिबारदेखि मष्टा गाउँपालिका–६, रिलुमा लागेको हरेलो मेलामा पनि भलिबल प्रतियोगिता भयो । प्रतियोगितामा पुरुषतर्फ २६ टोली र महिलातर्फ १२ टोली सहभागी थिए ।
‘वडाध्यक्ष कप’ नाम दिइएको प्रतियोगितामा जिल्लाका विभिन्न वडाका टोलीले सहभागिता जनाए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले रु एक लाख, महिलातर्फ प्रथम हुने टोलीले ६० हजार प्राप्त गरे ।
एउटै मेलामा पुरुष र महिलाका गरी ३८ टोली मैदानमा उत्रिनुले बझाङमा भलिबलप्रतिको बढ्दो आकर्षणलाई मात्रै देखाउँदैन, महिला खेलाडीको सहभागिता र अवसर विस्तार हुँदै गएको संकेत गर्छ ।
बझाङको बिर्सती मेलाले सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ । तर, यो वर्ष बझाङीले ‘बिर्सती’ भलिबल प्रतियोगिताको आयोजना गरे । बझाङको दुर्गाथली र छबिसपाथिभेरा गाँउपालिकाको बीचमा पर्ने (बिसौनाचौर) क्षेत्रमा प्रत्येक वर्ष भदौ १८ देखि २१ गतेसम्म मनाइन्छ यो मेला ।
संस्कृति लोप हुन नदिने उद्देश्यले मेलाको नाम बाट बझाङमा आइतबारदेखि ‘बिर्सती’ भलिबल प्रतियोगिताको आयोजना गरियो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले दुई लाख दुई हजार १२१, द्वितीयले रु एक लाख दुई हजार १२१, तृतीयले ५० हजार १२१ र सान्त्वना हुने टोलीले रु १५ हजार १२१ पाउनेछन् । उन्नाइस टिम सहभागी छन् ।
महिलातर्फ प्रथम पुरस्कार ५० हजार १२१, द्वितीय २५ हजार १२१, तृतीय १२ हजार १२१ र सान्त्वना पुरस्कार छ हजार १२१ प्राप्त गर्नेछन् । महिलातर्फ पनि ११ टिमले उपस्थिति जनाएको छ ।
बझाङका गाउँघरमा मेला–जात्रा आफैँमा सामाजिक पुनर्मिलनका अवसर हुन् । रोजगारी, अध्ययन वा अन्य कारणले गाउँबाहिर रहेका युवा पनि मेला–जात्राका अवसरमा गाउँ फर्किन्छन् ।
बिर्सतीका भलिबल सह संयोजक अर्जुन दौल्यालका अनुसार एउटा गाउँको टोली अर्को गाउँमा पुग्छ । स्थानीय दर्शकले बाहिरबाट आएका खेलाडीको खेल हेर्छन् । खेलपछि प्रतिस्पर्धीहरू फेरि साथी बन्छन् ।
जितको खुसी र हारको अनुभवसँगै आपसी चिनजान र सम्बन्ध पनि विस्तार हुन्छ । भलिबलको मैदान केवल खेल हुने ठाउँ होइन, सम्बन्ध गाँसिने ठाउँ पनि बन्न थालेको उनी बताउँछन् ।