काठमाडौं । म्याद गुज्रेका चक्लेट, बिस्कुट, आलु चिप्समा नयाँ लेवल राख्दै बजार पठाउने काममा चर्चित विशाल ग्रुप जोडिएको छ ।
बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीस्थित गोदामबाट ठूलो परिमाणमा म्याद गुज्रिसकेका ट्याङ र ओरियो बिस्कुट, आलु चिप्सलगायतको सामग्री बरामद गरेको थियो । ती सामग्रीमा एक वर्षको म्याद थप गर्दै बजार पठाएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेसिनसहित बिहीबार महाशाखाले ९ जनालाई रङ्गेहात पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुमा आयन समूहका प्रमुख बताउने रोनक बोथ्रासहित नयाँ म्याद टाँस्ने काममा संलग्न कर्मचारीहरु छन् । प्रहरीले सामानसँगै स्टिकर बनाउने मेसिन समेत बरामद गरेको छ ।
अपराध महाशाखाका अनुसार आयन डिष्ट्रिब्युटर लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामाग्री विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र अर्को लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको खुलेको छ ।
ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिङ्गल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको पाइएको छ ।
करिब एक करोड रुपैयाँभन्दा धेरै मूल्यका त्यस्ता वस्तुहरुसहितको गोदाम सिल गरिएको र थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । गोदाममा युनिलिभरका उत्पादनहरु समेत रिलेबलिङ गरेको भेटिएको विभागले जनाएको छ ।
यो काममा संलग्नता देखिएसँगै अपराध महाशाखाले विशाल ग्रुप र उसको संस्था युनाइटेड डिष्ट्रिब्युटरलाई अनुसन्धानको दायरामा ल्याउने तयारी थालेको छ ।
सोहीकारण अहिले विशाल ग्रुपको चलखेल बढेको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरुसँग सेटिङ मिलाउन विशाल ग्रुपले च्यानल मार्फत् प्रक्रिया अगाडि बढाइसकेको छ । विशाल ग्रुप अन्तर्गतको यूनाइटेड डिस्टिव्युटर नेटवर्कमा काम गर्ने पुर्व एआईजी वीरेन्द्रबाबु श्रेष्ठलाई ग्रुपले खटाइसकेको स्रोतको भनाई छ ।
तर जनस्वास्थ्यसँग खेलवाड गरिएको भन्दै महाशाखा प्रमुख एसएसपी थापाले भने यो काममा संलग्नलाई कारबाहीको दायरामा ल्यायरै छोड्न गरी काम गरिरहेको बताइएका छन् । विशाल ग्रुपका उपाध्यक्ष तुलसी अग्रवाल एनआईसी एसिया बैंकमा अध्यक्ष छन् ।
विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल र एनआईसीका संचालक रामचन्द्र संघाई केही समय अघि जुवा केशमा समेत पक्राउ परेका थिए ।