तीब्र रोग के हो ? तीब्र रोगमा के गर्ने ?

19.2k Shares

अधिकांश मानिसहरुले आवश्यकता भन्दा बढी खान्छन्, खान नहुने कुरा खान्छन् जसले गर्दा खाएका ती कुराले भित्र गएर पाचनलाई गडबढ गरीदिन्छ । पाचन गडबढ भएपछि खानाबाट उत्पन्न हुने मल शरीरबाट सजिलै र सबै बाहिर निस्कन पाउँदैन । हाम्रो शरीरमा दिशा, पिसाब, पसिना र स्वास मार्गबाट विकारहरु बाहिर निस्कन्छन् । खानाबाट शरीरमा उत्पन्न मल मालमार्गबाट स्वभाविक रुपमा बाहिर निस्कन नसकेपछि त्यो मल पेटको आसपासमा जम्मा हुन थाल्छ । मलको मात्रा बढ्दै गएपछि त्यो बिकार मांसपेशी र छालामुनी पुग्छ जसले गर्दा शरीरको आकृतिमा केही परिवर्तन हुन्छ र शरीर पनि मोटाउँन थाल्छ । विकार तत्व बढ्दै गएपछि शरीरमा विभिन्न खालका समस्याहरु उत्पन्न हुने गर्छ । जस्तै झाडा बान्ता, रुघा, ज्वरो र घाउँ खटिरा । शरीरको सुरक्षाको लागि प्रकृतिले उठाउने कदमलाई तीब्र रोग भनिन्छ । तीब्र रोगको पहिलो रुप :

१। पखाला

पखाला किन हुन्छ ? लाग्दा के गर्ने ?

लामो समयसम्म भईरहेको कब्जियत खुलाउँन पखाला लाग्छ कि त तात्कालिक फुड पोइजन भएमा पनि पखाला लाग्छ । पखाला लाग्दा बारम्बार पातलो दिशा लाग्छ तर यो शरीरले आफ्नो सफाई गर्ने अभियान हो । विहान भरिमा ४ पटक भन्दा बढी पातलो दिशा भयो भने त्यसलाई पखाला भनिन्छ ।

–पखाला लाग्दा ठोस आहार नलिई झोल आहार लिनु पर्छ । झोल आहारमा तातो पानी, नुन चिनी पानी , फलफुलको रस, मह कागती पानी, भातको माड या दालको झोल छोक्रा छानेर, तरकारी पकाएको झोल खान सकिन्छ ।

–पखाला निको भएपछि १ दिन जाउँलो आहार गरेर चार दिनसम्म काँचो चिज खानु हुँदैन ।

२। बान्ताः

पाचन प्रणालीमा मुखबाट खाना निलेपछि पुग्ने ठाउँ पेट हो । पेटबाट आन्द्रामा जान नसकेको फोहोर फाल्न बान्ता उत्पन्न हुने गर्छ । हामीले चाहिने नचाहिने खाना खाएर अपच भएपछि बान्ताको सकसक लाग्छ ।

बान्ता भयो भने के गर्ने ?

– बान्ता हुँदा केही नखाने ।

– मनतातो पानी, तातो पानी विस्तारै विस्तारै चिया जस्तै पिउँने ।

– बान्ता नआएको दुई चार घण्टा पछि सामान्य आहार गर्न सकिन्छ ।

– गाडी चढेको बेलामा बान्ता भयो भने गाडी चढ्ने अभ्यस्त भइरहेमा र पित्त    बद्र्धक आहार नखाँदा बान्ता हँुदैन ।

३। रुघाः

रुघा एलोपेथीमा १०० थरी भन्दा बढी भाइरसले लगाउँने समस्याको रुपमा लिइन्छ । तर बास्तबमा शरीरमा विकार कायम रहेको अवस्थामा रुघा लाग्ने हो ।  पखाला र बान्तामा गलत आहार र उपचार गरियो भने शरीरमा विकार भएर नै रुघा लाग्ने हो । रुघा लाग्दा शरीरमा कफ बढेको हुन्छ ।

रुघा लाग्दा के गर्ने ?

– रुघा लाग्दा तातो पानी, मह कागती पानी घण्टामा १ गिलासको दरले लिन सकिन्छ ।

– सुन्तला, मौसम, जुनारका रस वा फल नै खान सकिन्छ । तर रुघासंगै खोकी पनि छ भने फलफुल, काँचो सलाद नलिई उसिनेको मात्र लिनु पर्छ ।

– माछा, मासु, अण्डा, दुग्ध पदार्थ, चिल्लो, चिसो, काँचो, चिनीका पदार्थहरु र ठण्डी गुणका तरकारीहरु जस्तै तोरीको साग, च्याउँ, रामतोरीया, कांक्रा, मुला, स्कुश जस्ता तरकारी रुघा लागुन्जेल नखाने ।

– विहानको ताजा हावाको सेवन गर्ने अथवा पसिना आउँने गरी व्यायाम, आसन, प्राणायाम हल्का गर्ने ।

– रुघा लाग्ने वित्तिकै सबैभन्दा राम्रो उपाय तातो हल्केलाले निधार र छातीमा रेकी सेक्ने ।

त्यसैगरी खानामा तातो सुपहरु लिन सकिन्छ जसमा कोदोको सुप सबैभन्दा उपयुक्त हुन्छ ।

– रुघाको सही उपचार भनेको नाक बन्द पनि नहुने, सिंगान पनि बग्न बन्द हुनुपर्छ । गरम मसला पानीले सिंगान बन्द भएपनि नाक बन्द गर्न सक्छ ।

– रुघा भाइरसबाट लाग्ने र भाइरसको कुनै औषधी नभएकोले रोग प्रतिरोधात्मक क्षमता बढाउँनु नै सर्बोत्तम उपाय हुन्छ । यसको लागि दैनिक बिस तीस मिनेट घाममा बस्ने, प्रयाप्त निदाउँने, स्वच्छ वायुको सेवन गर्ने, दैनिक तीन चार लिटर पानी पिउँने, सधै रिस चिन्ता तनाव जस्ता अुनुचित विचारबाट मुक्त रहने ।

४। ज्वरोः

यी माथि चर्चा गरिएका तीनवटा समस्यामा अनुचित आहार र अनुचित उपचार जारी रहेमा पुरानो मल निस्कासन नहुने र नयाँ मल पनि जम्मा हँुदै रहने हुनाले यसलाई हटाउँन ज्वरो आउँछ । ज्वरोको सामान्य मापदण्ड ९८।६ डिग्री फरेनहाइट हो । त्यो भन्दा बढी हुनु ज्वरो हो ।

ज्वरो आउँदा के गर्ने ?

– पहिलो उपाय उपवास गर्ने, जसमा घण्टा घण्टामा मनतातो या तातो पानी पिउने । गर्मीमा चिसो पानी पनि प्रयोग गर्न सकिन्छ तर चिसो पानी खाँदा घाटी नदुख्नु पर्छ ।

– रसाहार, उपबास बस्न सकिँदैन भने फलफुलको रसमा मौसमको रस उत्तम हुन्छ । सामान्य ज्वरोमा तातो पानीमा मह कागती पानी लिन सकिन्छ ।

– ज्वरोलाई भोकै बसेर निको पार्न नसक्ने मनस्थिती हो भने झोल आहार, ताजा तरकारीको सुप या जाउँलो लिएर सिटामोल लिन सकिन्छ ।

साबधानीः

हेपाटाइटिस र क्षयरोगको ज्वरोमा भोकै बस्न मिल्दैन ।

जन्डिसको ज्वरोमा गर्मी गराउँने आहार लगायत माछा, मासु, अण्डा, दुग्ध पदार्थ, दाल गेडागुडी चिल्लो मसला नखाई हल्का कार्बोहाईड्रेट प्रधान आहार सेवन गरी पूर्ण आराममा रहदा हेपाटाइटिसको ज्वरोका लक्षण छिटै हराउँछ । यसमा मेवा, स्याउ, केरा र उँखु जस्ता गुलिया फलफुल खान सकिन्छ ।

क्षयरोगको ज्वरो– ज्वरो सबै सुरुमा सामान्य नै हुन्छ तर त्यसको गलत उपचार र गलत आहारले नै विग्रेर निमोनिया, टाइफाइड र क्षयरोग जस्ता विकृतिमा पुग्ने हो । त्यसैले क्षयरोगमा उचित आहार सहित औषधीको प्रयोग गर्नुपर्छ ।

घाउँ खटिरामा के गर्ने ?

कार्बोहाईड्रेट प्रधान आहार लिने । प्रोटिन प्रधान, चिया, कफी र गर्मी गर्ने आहार बन्द गर्ने । नुन, चिनी बन्द गर्ने । घाउँ खटिरा आउँदा चिसो पट्टीको प्रयोगले धेरै लाभ गर्छ ।

हामीले साच्चिकै घरपालुवा जनावरलाई नियालेर हेरेका छौ भने ती जनावरहरुले आफुलाई सन्चो नहुदा उसले केही खादैन, जस्तो मीठो परिकारहरु अगाडी राख्दा पनि भोकै बस्छ र आराममा बस्छ तर मानिस सबै भन्दा विवेकशील प्राणी भएपनि आफ्नो स्वास्थ्य ठीक नहुदा र भोक नलाग्दा पनि कोचि कोचि खान खोज्छ । त्यसैले तीब्र रोगको कारण मानिसले गर्ने आहार, विहार, विचार अनुचित हुनु नै हो । तीब्र रोग लाग्ने वित्तिकै उपबास, रसाहार, फलाहार र अल्पाहार गर्दै उचित आहारमा जाने हो भने सुगर, प्रेसर, दम, बाथ र मुटुरोग जस्ता जीर्ण दीर्घ रोगहरुको सिकार कहिल्यै हुनु पर्दैन । आपनो शरीरलाई मापदण्द बनाउदै उचित विहार र विचार गर्दा तीब्र रोगहरुलाई सजिलै निवारण गर्न सकिन्छ ।

(डंगोल योग तथा उचित आहार बिहार विचार प्रशिक्षक हुन्)

सम्बन्धित समाचार