दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

935 Shares

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ । जिल्लामा गगन थापा नेतृत्वको जिल्ला कार्यसमितिले महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि तथा चयन गरिसक्दा देउवा पक्षले बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको छ ।

कांग्रेस दोलखाले दुवै प्रदेशसभा निर्वाचन क्षेत्रबाट क्षेत्रिय प्रतिनिधि चयन सहित ३ तहको अधिवेशन सम्पन्न गर्दै प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ । बुधबार सम्पन्न अन्तिम सर्वसम्मत परिणामअनुसार विभिन्न क्लस्टरबाट ३२ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

जिल्लाका नौवटै स्थानीय तहका सभापति पदेन रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनले प्रदेशसभा ‘क’ र ‘ख’ को कार्यसमितिसमेत सर्वसम्मत चयन गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा शुक्रराज तामाङ पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।

तामाङ यसअघि पनि सोही क्षेत्रको सभापति थिए। त्यसैगरी क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा चित्रकुमार तामाङ निर्वाचित भएका छन् । तामाङ यसअघि नेपाल तरुण दल दोलखाको अध्यक्ष थिए । दुवै निर्वाचन क्षेत्रबाट प्रदेश अधिवेशन प्रतिनिधिसमेत चयन भएका छन् ।

यता, देउवा पक्षले भने बिहीबारदेखि दोलखामा वडा अधिवेशन सुरु गरेको छ । देउवा पक्षका जिल्ला अधिवेशन संयोजक ताराकुमार खड्काका अनुसार बिहीबार भीमेश्वर नगरपालिका, तामाकोशी गाउँपालिका तथा गौरीशंकर गाउँपालिकाका केही वडामा अधिवेशन सम्पन्न भएको छ ।

खड्काका अनुसार असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन असोज २० गतेसम्म सञ्चालन हुनेछ । वडा अधिवेशनपछि पालिका तथा प्रदेश अधिवेशन गर्ने तयारी रहेको उनले जानकारी दिए 

सम्बन्धित समाचार