सिन्धुपाल्चोक क्षेत्र नं. १ मा गठबन्धन गर्दा पनि माओवादीलाई छाड्न नसक्ने र गठबन्धन नगर्दा पनि फरक नपर्ने भन्दै मोहन बस्नेतद्वारा नेतृत्वलाई ध्यानाकर्षण
काठमाडौं, ७ भदौ । सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ संविधान जारी भएपछिको पहिलो चुनावमा चर्चाको शिखरमा थियो । सामान्यतः चुनाव नहार्ने नेताको पहिचान बनाएका मोहन बस्नेतसँग वर्तमान सभामुख अग्निप्रसाद सापकोटाको भिडन्तले सिन्धुपाल्चोक–१ लाई चर्चा दिएको थियो । यी दुई नेताबीच पहिलोपटक प्रतिस्पर्धा हुँदै थियो । माओवादी एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा थियो, त्यसकारण सापकोटा बलिया देखिन्थे । तर, कांग्रेस एक्लै चुनावमा हुँदा पनि त्यहाँ मोहन बस्नेतले जित्ने अपेक्षा स्थानीयमा मात्र होइन बस्नेतको शैलीले देख्नेको पनि थियो ।
२०७० सम्म देशभर २४० निर्वाचन क्षेत्र हुँदा सिन्धुपाल्चोकमा तीन निर्वाचन क्षेत्र थियो । त्यसबेला फरक निर्वाचन क्षेत्र भएर एकअर्काप्रति कडा टिप्पणी गर्ने सापकोटा र बस्नेतको एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भने हुन पाएको थिएन ।संविधानसभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भयो । २४० निर्वाचन क्षेत्र घटाएर १६५ बनाइयो । सिन्धुपाल्चोकमा दुई निर्वाचन क्षेत्र कायम भयो । क्षेत्र नम्बर दुई एकमा र तीनमा गाभिँदा सापकोटा क्षेत्र नम्बर–१ तर्फ नै परे । छुट्टै निर्वाचन क्षेत्र हुँदासमेत एकअर्कालाई औंला उठाउने र आफ्नो शक्तिका अघि उभिन नसक्ने भन्दै भाषण गर्ने नेताहरूबीच जब एकै ठाउँमा प्रतिस्पर्धा भयो, त्यसले चर्चा र चासो खिचिदियो । त्यो चर्चामा मोहन बस्नेतले सशस्त्र युद्धकालदेखि बनाएको व्यक्तित्वले काम गरेको थियो ।
माओवादीको सशस्त्र द्वन्द्वका क्रममा देशभर कांग्रेस नेता कार्यकर्ता माओवादीसँग जोगिन राजनीति गतिविधि करिब छोडेर लुकेर हिँडेका बेला मोहन बस्नेतले युवा दस्ता घोषणा गरेर माओवादीलाई नै खोजी–खोजी कारबाही गर्ने घोषणा गरेका थिए । शान्ति प्रक्रियामा आएपछि माओवादीका गतिवधि शान्तिपूर्ण नभएको भन्दै जिल्ला सभापतिहरूको बाह्रबिसे भेलामा बस्नेतले उनीहरूले जस्तै कारबाही गर्ने अनुमति दिन माग गरेका थिए ।
बस्नेत केन्द्रमा पार्टीले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग तालमेलको निर्णय गरेर देशभर गठबन्धन हुँदा स्थानीय तहमा विपक्षमा उभिएका थिए । सत्ता गठबन्धनले स्थानीय चुनाव सकिएलगत्तै संघीय चुनावमा पनि गठबन्धन गर्ने निर्णय ग¥यो । तर, बस्नेतले भने गठबन्धन अन्यत्र गर्न आग्रह गर्दै सिन्धुपाल्चोक–१ मा गठबन्धन नगर्ने घोषणा गरे । यसले सिन्धुपाल्चोक–१ मा गठबन्धनले के निर्णय गर्ला भन्ने जिज्ञासा बढाएको छ ।
सिन्धुपाल्चोक–१ मा सात गाउँपालिका र नगरपालिकाको एक वडासमेत पर्छ । बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको वडानम्बर–४ सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा पर्छन् ।
यी सबै स्थानीय तहका वडामा पाएको मत हेर्दा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । क्षेत्रभरीको सबै स्थानीय तहमा वडाध्यक्षले पाएको मत जोड्दा नेपाली कांग्रेस ३४ हजार ७६१ मतसहित पहिलो छ । २७ हजार ८०३ मतसहित एमाले दोस्रो छ । माओवादी केन्द्र कांग्रेसभन्दा झण्डै १६ हजार मतले पछाडि छ । माओवादीले पाएको मत १८ हजार ८५२ छ । यो निर्वाचन क्षेत्रमा राप्रपाले दुईहजार मत पाएको छ । नेकपा एसले एक हजार ६५० मत पाएको छ ।
यही मतका आधार बनाएर कांग्रेस नेता बस्नेतले सिन्धु्पाल्चोक–१ गठबन्धन गर्दा पनि माओवादीलाई छोड्न नसक्ने र गठबन्धन नगर्दा पनि फरक नपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा ७ वटा पालिकामध्ये कांग्रेसले बाह्रबिसे नगरपालिका तथा भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख÷उपप्रमुखसहित बहुमत, जुगल, बलेफी र सुनकोसी ३ वटा गाउँपालिकामा उपाध्यक्षसहित बहुमत र लिसंखुपाखर गाउँपालिकामा ६ मध्ये तीन वडा जितेका छ । क्षेत्र भित्रका कुल ५४ वडामध्ये ३२ वडा कांग्रेसले जित्दा माओवादले ५ वडा मात्रै जितेको छ ।
यता, टिकटको दाबी गरिरहेको माओवादी केन्द्रले क्षेत्र भित्रका चारवटा पालिकामा एउटा वडा सदस्यसमेत जितेको छैन । कांग्रेससँगै गठबन्धन भएको जुगल गाउँपालिकामा प्रमुख जितेको छ । तर, त्यसबाहेक एउटा पनि सदस्य जितेको छैन । कांग्रेसकै सहयोगमा लिसंखुपाखर गाउँपालिकामा प्रमुख र एक वडाध्यक्षसहित दुई वडासदस्य जितेको छ । कांग्रेसकै सहयोगमा जितेका पालिका अध्यक्षले पनि जितपछिको जिल्ला समन्वय समितिमा एमालेसँग तालमेल गर्दा सदस्यविहीन छ ।