काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता तथा बाग्लुङमा एक जनाको मत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
साथै उहाँले सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ ।
उहाँले आज एक विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घडीमा बेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिराले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औँल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकारसमक्ष माग गर्नुभएको छ ।
उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टीका सम्पूर्ण नेताकार्यकर्तामा अपिल गर्दै उहाँले पहिरामा जीवन गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।