अमेरिकाको टेक्सासमा मंगलबार एक किशोर हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। टेक्सासस्थित एक विद्यालयभित्र उक्त गोली आक्रमण भएको हो ।
प्रहरीका अनुसार यो आक्रमण १८ वर्षीय सालभाडोर रामोस नामका किशोर एक्लैले गराएका हुन् ।
समाचारमा उल्लेख गरिएअनुसार आक्रमणकारी आफ्नो गाडीमा चढेर आएका थिए र हाते बन्दुकसहित विद्यालयभित्र प्रवेश गरेका थिए ।
त्यसपछि उनले अन्धाधुन्ध गोली चलाउन सुरु गरेका थिए । अनुसन्धाताका अनुसार रामोसले घरबाट बाहिर निस्किनुभन्दा पहिला पनि आफ्नी हजुरआमाको हत्या गरेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रहरीको कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् ।
यो घटनामा दुईजना प्रहरी पनि घाइते भएका छन् तर उनीहरुको चोट भने गम्भीर नरहेको प्रहरीले बताएको छ ।
१० दिनअघि मात्र अमेरिकाको न्युयोर्कमा भएको गोली आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो। पछिल्लो समय अमेरिकामा अन्धाधुन्ध गोली आक्रमणको घटना बढेको छ ।