एजेन्सी । युईएफए नेसन्स लिग अन्तर्गत इङ्ल्यान्ड, फ्रान्स, बेल्जीयम र पोर्चुगलले जित निकालेका छन् ।
शनिबार राति भएको समूह बी अन्तर्गतको खेलमा इङ्ल्यान्डले आइसल्यान्डलाई १–० गोल अन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले खेलको इन्ज्युरी समयमा गोल गर्दै जित निकालेको हो । १० खेलाडीमा समेटिएको इङ्ल्यान्डले संघर्षपूर्ण जित निकालेको हो । खेलको ७३ औं मिनेतमा केले वाल्कर रातो कार्ड खाँदै मैदान बाहिर गएका थिए ।
उता, आइसल्यान्डका इङगी इन्गासन ८९ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । इन्गासले डी एरिया भित्र फल गरेपछि इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो ।
इङ्ल्यान्डका लागि रहिम स्ट्रलिङले विजयी गोल गरे । उता आइसल्यान्डले पनि इन्ज्युरी समयमा पेनाल्टी पाएपनि गोल भने गर्न सकेन् ।

त्यस्तै, युवा स्टार खेलाडी केलियन एम्बाप्पेको निर्णायक गोलमा फ्रान्सले जित निकालेको छ । फ्रान्सले स्वीडेनलाई १–० गोल अन्तरले हराएको हो । स्वीडेनको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एम्बाप्पेले निर्णायक गोल गरे । उनले खेलको ४१ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो । विश्ककप विजेता टोली फ्रान्सले पहिलो खेलमा जितसँगै सुरुआत गरेको छ । फ्रान्सको आजको खेलमा बार्सिलोनाका स्टार खेलाडी एन्टोनी ग्रिजम्यान, चेल्सीका खेलाडी ओलिभर जिरुडले पनि खेलमा प्रभाव जमाएका थिए ।
त्यस्तै, बेल्जियमले डेनमार्कलाई २–० गोल अन्तरले हराएको हो । डेनमार्कको घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन जेसन डेनायर र डेरिस मेर्टेन्सले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा जेसनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । खेलको ७६ औँ मिनेटमा मेर्टेन्सले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
उता, पोर्चुगलले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा पार्चुगललाई जित दिलाउन जाओ कन्केलो, डिएगो जोटा, जाओ फेलिक्स र अन्ड्रे सिल्भाले एक–एक गोल गरे । खेलको ४१ औँ मिनेटमा कन्केलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भएको हो । ५८ औँ मिनेटमा जोटाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । ७० औँ मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई ३–० अग्रता दिलाए । उता क्रोएसियाका लागि खेलको इन्ज्युरी समयमा ब्रुनोले गोल गर्दै टिमलाई राहत दिलाए । खेलको इन्ज्युरी समयमा नै सिल्भाले गोल गर्दै पोर्चुगललाई ४–१ गोलको जित दिलाए ।