छठअघि सिर्सिया नदी सफाइ अभियान

616 Shares

काठमाडौँ– छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सक्रियतामा सिर्सिया नदीको सरसफाइ, औद्योगिक प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।

नदीमा उद्योगबाट निस्कने रसायनयुक्त फोहर पानी तथा प्रशोधन नगरिएको दूषित पानी मिसिने समस्या अन्त्य गर्न सम्बन्धित उद्योगहरूलाई निर्देशन दिइएको छ ।

नदीलाई सफा बनाउँदै श्रद्धालु भक्तजनले छठ पर्वमा स्वच्छ वातावरणमा पूजा तथा अर्घ दिन सक्ने अवस्था सिर्जना गर्न सरकार, सम्बन्धित सरकारी निकाय र स्थानीय तह सक्रिय भएका छन् ।

उद्योग विभागले यही कात्तिक १४ गते उद्योगहरूलाई नदीमा प्रशोधन नगरेको फोहर पानी नछोड्न पुनः निर्देशन दिँदै संयुक्त अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ ।

त्यस्तै, कात्तिक १५ गते प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सिर्सिया नदीको प्रदूषण नियन्त्रण र फोहर व्यवस्थापनका लागि पाँचबुँदे निर्णय गरेको छ ।

बैठकले औद्योगिक क्षेत्रका उद्योगलाई आफ्ना फोहर पानी प्रशोधन केन्द्र २४सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न तथा प्रशोधन नगरेको रसायनयुक्त पानी नदीमा नछोड्न निर्देशन दिएको छ ।

बैठकले साना तथा मझौला उद्योगका लागि साझा फोहर पानी प्रशोधन केन्द्र स्थापना गर्ने सम्भाव्यता अध्ययन, नगरपालिकाको ढल नदीमा मिसिन नदिन वैकल्पिक निकासको व्यवस्था तथा नदीको दीर्घकालीन संरक्षणका लागि तीनै तहका सरकारको सहभागितामा संरक्षण कोष स्थापना गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ ।

प्रदूषण गर्ने १२ उद्योगमाथि कारबाही

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले यसअघि पनि उद्योगमाथि कारबाही गरेको थियो । गत साउन ५ गते सार्वजनिक विवरणअनुसार नदी आसपासका उद्योगको फोहर पानी परीक्षण गर्दा १२ उद्योगले वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि ती उद्योगलाई जनही १० लाखका दरले कूल एक करोड २० लाख जरिवाना गर्ने निर्णय गरिएको थियो ।

सरकारको पछिल्लो सक्रियताले सिर्सिया नदीको सरसफाइलाई छठ पर्वसँग मात्र सीमित नराखी दीर्घकालीन रूपमा प्रदूषणमुक्त बनाउने लक्ष्य लिएको छ । यसका लागि उद्योगको नियमित अनुगमन, फोहर पानी प्रशोधन प्रणालीको प्रभावकारी सञ्चालन र मापदण्ड उल्लङ्घन गर्नेमाथि कानुनी कारबाहीलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

छठ पर्वमा श्रद्धालुले स्वच्छ नदीमा अर्घ दिन पाउने वातावरण निर्माण गर्नुका साथै सिर्सिया नदीको प्राकृतिक अस्तित्व जोगाउने र आसपासका नागरिकको जनस्वास्थ्य संरक्षण गर्ने सरकारको यो अभियानलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन निरन्तर निगरानी र कार्यान्वयन आवश्यक देखिएको छ ।

सम्बन्धित समाचार