जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

993 Shares

रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलामा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गमा आइतबार बिहान करिब ११ः३० बजे खलङ्गाबाट सिम्ली जाँदै गरेको लु.प्र.०१–००१ ज ६४० नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प १५२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक गोविन्द विक र पछाडि सवार काशीराम विक घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी लगिएकामा काशीरामको दिउँसो १ः४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक गोविन्दको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि प्रहरीले जिप चालक महेश भण्डारीसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार