बागलुङ– जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन ।
जग्गा भएर पनि पर्याप्त भवन नहुँदा प्रशासनिक कामदेखि प्रहरी आवास र हिरासत कक्षसम्म एउटै पुरानो भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता थियो । प्रहरी परिसरभित्र एकैपटक चारवटा नयाँ भवन निर्माण भएपछि प्रहरीको वर्षौँदेखिको भौतिक पूर्वाधारसम्बन्धी समस्या समाधान भएको छ ।
नयाँ भवन निर्माणसँगै प्रहरीलाई आवासको व्यवस्था भएको छ भने व्यारेक, हिरासत कक्ष र कार्यालय प्रमुखको निवास उपलब्ध भएको छ । यसअघि भाडाको कोठामा बस्दै आएका प्रहरी अब कार्यालय परिसरभित्रै बस्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार पुरानो भवनबाट प्रशासनिक काम, हिरासतकक्ष र हातहतियार भण्डारणसमेत गर्नुपर्ने अवस्था थियो । प्रहरी आवासका लागि पर्याप्त ठाउँ नहुँदा केही प्रहरी भाडाको कोठामा बस्नुपर्ने बाध्यता थियो ।
सङ्घीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत नौ करोड ७१ लाख ९३ हजार ५०० लागतमा प्रहरी परिसरमा ब्यारेक, हिरासतकक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास, कार्यालय प्रमुखको निवास, मोटर ग्यारेज, पर्खाल र प्रवेशद्वार निर्माण गरिएको छ । पुरानो कार्यालय भवनको मर्मतसम्भार र सौन्दर्यकरण गरिएको छ ।
नवनिर्मित व्यारेक भवनको भुइँतलामा मेस, भण्डारकक्ष तथा प्रहरी कर्मचारीका लागि आवासको व्यवस्था गरिएको छ । महिला प्रहरीका लागि छुट्टै सुविधासम्पन्न ब्यारेक निर्माण गरिएको छ । पहिलो र दोस्रो तलासहित आठ हजार ६७१ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनमा १४० जना प्रहरी बस्न सक्ने क्षमता छ ।
त्यस्तै, प्रहरी परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासतकक्ष निर्माण गरिएको छ । हिरासत भवनमा सुरक्षाकक्ष, भेटघाटकक्ष, नाबालिगका लागि दुईवटा छुट्टै हिरासतकक्ष, अन्तरवार्ताकक्ष र हातहतियार भण्डारणकक्षको व्यवस्था गरिएको छ । शौचालयसहितको हिरासतकक्ष निर्माण भएपछि थुनुवाको व्यवस्थापनमा सहज भएको छ ।
प्रहरी अधिकृत र कार्यालय प्रमुखका लागि दुईवटा आवासीय भवन निर्माण गरिएका छन् । यसअघि कार्यालय प्रमुखको निवास पुरानो अञ्चल प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको थियो ।
पर्याप्त कार्यकक्ष र आवासको व्यवस्था भएपछि प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा व्यवस्थापन र सेवा प्रवाहमा सहजता थपिएको प्रहरीको भनाइ छ । सुरक्षित र सुविधासम्पन्न वातावरणमा बस्न पाउँदा प्रहरी कर्मचारीको मनोबल बढ्ने अपेक्षा गरिएको छ ।
जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालयको भौतिक अवस्था सुधार भए पनि जिल्लाका अन्य प्रहरीचौकीको अवस्था भने अझै कमजोर छ । जिल्लाभरका १५ वटा प्रहरीचौकी भाडाका घरबाट सञ्चालन भइरहेका छन् ।
प्रहरी उपरीक्षक प्रसाईँका अनुसार जिल्लाका आठवटा प्रहरीचौकीको आफ्नै जग्गा छैन भने जग्गा भएका सातवटा चौकीमा भवन निर्माण हुनसकेको छैन । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गास्थित प्रहरीचौकीका भवन अभावमा चार वर्षदेखि घाटको सत्तलमा बसेर सेवा दिइरहेका छन् । उक्त चौकीका लागि भने हाल भवन निर्माणको शिलान्यास गरिएको छ ।