काठमाण्डौ – अब काठमाण्डौ उपत्यकाबाट अरु जिल्लाको पनि नागरिकताको प्रतिलिपि बनाउन सकिने भएको छ ।
काठमाण्डौ उपत्यकामा बसोबास गर्ने अरु जिल्लाका नागरिकले काठमाण्डौ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौका अनुसार सरकारको १०० बुँदे शासकीय शुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम नागरिकताको प्रतिलिपि काठमाण्डौबाट बनाउने व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्थापछि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले प्रतिलिपि लिन सक्नेछन् । त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने कार्यालयले जनाएको छ ।
नागरिकताको प्रमाणपत्र आगलागी, बाढीपहिरो वा पानीले भिजेर नष्ट भएको, झुत्रिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अरु कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले नयाँ व्यवस्था अनुसार प्रतिलिपि बनाउन सक्नेछन् ।
अभिलेख नभिडेको वा अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति, ठेगाना वा अरु विवरण सच्याएर प्रतिलिपि लिनुपर्ने अवस्था तथा नागरिकताको प्रमाणपत्र शंकास्पद देखिएका निवेदकले भने शुरुमा नागरिकता प्राप्त गरेको जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।