मकवानपुर । मकवानपुरमा गाँजा र चरेसको अवैध ओसारपसार नियन्त्रणमा प्रहरीले प्रभावकारी चासो नदिएको आरोपसँगै जिल्लाबाट बारा र पर्सा हुँदै भारततर्फ लागूऔषध तस्करीको सञ्जाल झन् सक्रिय हुँदै गएको स्थानीयको दाबी छ। मकवानपुरमै रोक्नुपर्ने ठूलो परिमाणको लागूऔषध बाटोमै ‘सेटिङ’ मिलाएर छाडिने र सीमावर्ती जिल्लामा पुगेपछि केही मात्रामा पक्राउ देखाएर ठूलो परिमाण भारततर्फ पु¥याउने गरिएको आरोप स्थानीयस्तरबाट उठेको छ।
विशेषगरी मकवानपुरको भैंसे क्षेत्र लागूऔषध तस्करीको संवेदनशील ट्रान्जिट प्वाइन्ट बन्दै गएको स्थानीयको भनाइ छ। भैंसे हुँदै हेटौंडातर्फ आउने र बारा–पर्सा हुँदै भारतीय सीमातर्फ जाने मार्गमा प्रहरीको निगरानी प्रभावकारी हुन नसक्दा तस्कर समूहले आफ्नो सञ्जाल विस्तार गरेको उनीहरूको आरोप छ।स्थानीयका अनुसार भैंसेमा गाँजा–चरेस नियन्त्रणको नाममा हुने प्रहरी कारबाही पनि समान रूपमा निष्पक्ष नभएको आरोप लाग्ने गरेको छ। ‘सेटिङ’ नमिलेका कारोबारी वा समूहलाई मात्र पक्राउ गर्ने र प्रभावशाली समूहको अवैध कारोबारलाई बेवास्ता गर्ने गरिएको दाबी उनीहरूले गरेका छन्। यद्यपि, यस्तो आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ र प्रहरीले औपचारिक रूपमा यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने देखिन्छ।
भैंसे प्रहरी चौकीमा प्रमुखका रूपमा जानका लागि नै ‘टेंडर’ हाल्नुपर्ने जस्तो अवस्था रहेको स्थानीयको गम्भीर आरोप छ। उनीहरूका अनुसार चौकी प्रमुखको जिम्मेवारीलाई सेवा र सुरक्षा भन्दा पनि आर्थिक लाभसँग जोडेर हेर्ने प्रवृत्ति बढ्दै गएको छ। यही कारण लागूऔषध कारोबारीसँग नियमित लेनदेन हुने र प्रहरी–तस्करबीचको सम्भावित साँठगाँठले नियन्त्रण अभियान कमजोर बनाएको उनीहरूको दाबी छ। अहिले भैंसे स्थित प्रहरी चौकीमा असई गगनदेव भगत माली प्रमुखको रूपमा कार्यरत छन् । रौतहट घर भएका उनी सर्लाही लगायतका जिल्लामा घुमुवा देखि चौकीमा कार्यरत रहदा धेरै बिबाद , बदनामी भएका थिए ।
यदि प्रहरी चौकीमा नेतृत्व लिन आर्थिक चलखेल हुने र त्यसको प्रतिफल असुलीमार्फत उठाउने प्रवृत्ति वास्तवमै कायम छ भने यो केवल एउटा प्रहरी चौकीको समस्या नभई सम्पूर्ण प्रहरी कमाण्ड प्रणालीमाथिको गम्भीर प्रश्न हो। चौकी प्रमुखको सरुवा, जिम्मेवारी र कार्यसम्पादनमाथि पारदर्शी निगरानी नहुने हो भने संवेदनशील नाकामा तस्करी नियन्त्रणभन्दा संरक्षणको जोखिम बढ्न सक्छ।
मकवानपुरबाट गाँजा–चरेस बारा र पर्सातर्फ पुगेपछि सीमावर्ती क्षेत्रमा प्रहरीले केही परिमाण बरामद गर्ने गरेको देखिए पनि त्यसलाई मात्र आधार बनाएर सम्पूर्ण तस्करी नियन्त्रण भएको निष्कर्ष निकाल्न सकिँदैन। ठूलो परिमाणको अवैध लागूऔषध कहाँबाट आउँछ, कुन मार्ग प्रयोग हुन्छ, कसले ढुवानी गर्छ र त्यसको अन्तिम गन्तव्य कहाँ हो भन्ने विषयमा स्रोतदेखि गन्तव्यसम्मको अनुसन्धान आवश्यक हुन्छ।यसमा हेटौंडामा रहेको प्रहरीको उच्च कमाण्डमाथि पनि प्रश्न उठेको छ। स्थानीयले लागूऔषध तस्करी र सम्भावित प्रहरी असुलीबारे पटक–पटक गुनासो गर्ने गरेको भए पनि प्रभावकारी छानबिन र अनुगमन नभएको आरोप लगाएका छन्। हेटौंडामै प्रहरीको उच्च तहको नेतृत्व रहँदा पनि संवेदनशील क्षेत्रमा यस्तो गतिविधि भइरहेको आरोप उठ्नु आफैंमा गम्भीर विषय हो।
अब आवश्यकता सामान्य पक्राउको संख्या बढाउने होइन, मकवानपुरबाट भारतसम्म फैलिएको सम्भावित तस्करी सञ्जालको ‘रुट’ र आर्थिक कनेक्सन खोज्ने हो। भैंसेदेखि बारा–पर्सासम्मका संवेदनशील बिन्दुमा तैनाथ प्रहरीको सम्पत्ति, जीवनशैली, जिम्मेवारी अवधि, सरुवा प्रक्रियादेखि कारोबारीसँगको सम्भावित सम्पर्कसम्म छानबिन गर्नुपर्ने अवस्था देखिन्छ।गाँजा र चरेस नियन्त्रणको जिम्मेवारी बोकेको प्रहरीमाथि नै ‘सेटिङ’ र असुलीको आरोप लागिरहने तर त्यसको निष्पक्ष छानबिन नहुने हो भने कारबाहीका नाममा बरामद हुने केही किलो लागूऔषधले वास्तविक तस्वीर छोप्न सक्छ।
प्रश्न अब भैंसेमा गाँजा–चरेस पक्राउ प¥यो कि परेन भन्ने मात्र होइन—मकवानपुरबाट निस्किएको लागूऔषधको ठूलो हिस्सा आखिर कसरी बारा–पर्सा हुँदै भारतीय सीमासम्म पुगिरहेको छ रु यसको जवाफ खोज्न प्रहरी नेतृत्वले तत्काल स्वतन्त्र र तथ्यमा आधारित अनुसन्धान अघि बढाउनुपर्ने देखिन्छ। आरोप सत्य सावित भए दोषी प्रहरी र कारोबारी दुवैविरुद्ध कडा कारबाही तथा आरोप पुष्टि नभए गलत आरोप लगाउने पक्षमाथि समेत कानुनी प्रक्रिया अघि बढाउनु नै समस्याको वास्तविक समाधान हुनेछ। नवजनप्रहार साप्ताहिकको भदौ ५ गतेको अंकबाट साभार