रौतहटमा प्रहरीमाथि तस्कर जत्थाको आक्रमणः २ जना पक्राउ, ६ फरार

1.6k Shares

काठमाडौं । रौतहटको बौधिमाई नगरपालिका–७ स्थित बंकुल बजारमा तस्करीको सामान नियन्त्रणमा लिन पुगेको सशस्त्र प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ । तस्कर समूहले प्रहरीमाथि ढुंगा प्रहार गर्नुका साथै सशस्त्र प्रहरी निरीक्षकको मोबाइलसमेत खोसेका थिए ।

घटना भदौ १ गते बिहान करिब ९ः५५ बजेको हो । भारतबाट अवैध रूपमा ठूलो परिमाणमा मोटरपार्टस ल्याइँदै गरेको सूचना सशस्त्र बलमा आयो । सोही सूचनाको आधार मोटरपार्ट्स नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल, बीओपी सरमुजवाबाट खटिएको टोली बंकुल बजार पुगेको थियो ।

विशेष सूचनाका आधारमा पुगेको टोलीले सामान नियन्त्रणमा लिन खोजेपछि तस्कर समूह आक्रोशित हुँदै प्रहरीमाथि जाइलागेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआइजी विष्णु भट्टराईले बताए । तस्कर समूहले एक्कासी ढुंगा प्रहार गर्दा बीओपी सरमुजवाको टाटा टेल्को डबल क्याब गाडीको अगाडिको सिसा चर्कियो भने पछाडिको ढोकामा समेत क्षति पुग्यो ।

ढुंगा लागेर सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र पुलामी मगरको औंलामा तथा सशस्त्र प्रहरी जवान महमद जाहुल हकको टाउको र घाँटीमा चोट लागेको छ । आक्रमणकै क्रममा तस्कर समूहले निरीक्षक पुलामी मगरको मोबाइलसमेत खोसेका थिए । केही समयपछि भने मोबाइल फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले अनुसन्धान तीव्र पार्दै भदौ ३ गते राति बौधिमाई–७ का करिब ४० वर्षीय शिवपुजन यादव र वडा नम्बर ८ का करिब ३५ वर्षीय नवल यादवलाई उनीहरूकै घरबाट पक्राउ गरेको छ । दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य ६ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ । पछिल्लो तस्कारीको सामान नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीमाथि नै तस्कर समूहहरुले जाइ लाग्न थालेको छ । रौतहटको बंकुल तस्करीको ‘हट स्पट’ हुने गरेको प्रहरीकै दाबी छ ।

सम्बन्धित समाचार