विश्वकप फुटबल : जापानले ट्युनिसियालाई ४ गोलले हरायो

1.4k Shares

काठमाण्डौ - फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई ४ गोलले हराएको छ । विश्वकप फुटबलको यो एक हजार औँ खेल हो । 

सन् १९३० मा शुरु भएको फिफा विश्वकप ९६औँ वर्षमा आइपुग्दा एक हजार खेलको कोशेढुङ्गा पार भएको छ । आजको खेलमा जापानले खेलको चौथो, ३१औँ, ६९औँ र ८३औँ मिनेटमा गोल गर्‍यो । दाइची कामाडाले चौथो र आयसे युएदाले ३१औँ र ८३औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै जुनियले ६९औँ मिनेटमा गोल गरे । 

जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेलेको थियो । आजको जीतसँगै समूह ‘एफ’ मा जापानले ४ अङ्क जोडेको छ । यो समूहमा नेदरल्यान्ड्सको पनि समान ४ अङ्क छ । त्यस्तै ३ अङ्क रहेको स्विडेन तेस्रो र अङ्कविहीन ट्युनीसिया पुछारमा छ । 

विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पौने १० बजे स्पेन र साउदी अरबले खेल्दैछन् । त्यस्तै मध्यराति पौने १ बजे बेल्जियम र इरान, भोलि बिहान पौने ४ बजे उरुग्वे र केपभर्डे अनि बिहान पौने ७ बजे न्युजिल्यान्ड र इजिप्टले खेल्दैछन् । 

यसअघि आज बिहानको खेलमा इक्वेडर र कुराकाओले बराबरी खेल्दा आइभरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा पुगेको छ । त्यस्तै गएराति भएको खेलमा नेदरल्याण्ड्सले स्विडेनलाई ५–१ गोलले हराएको छ ।

सम्बन्धित समाचार