भैरहवा । नेपालमा कानुनी रूपमा नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध गरिएको भए पनि भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका क्यासिनोहरूमा भने खुलेआम नेपाली प्रवेश गराइएको चौंकाउने तथ्य बाहिर आएको छ । अझ गम्भीर कुरा त के छ भने, क्यासिनो सञ्चालकहरूकै भनाइअनुसार यस अवैध गतिविधिमा सुरक्षा निकायका केही तत्वहरू संलग्न रहेको आरोपसमेत लागेको छ ।
क्यासिनो व्यवसायीसँग गरिएको कुराकानी र प्राप्त सूचनाअनुसार भैरहवा आसपासका क्यासिनोहरूबाट जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाममा मासिक रूपमा रकम उठ्ने गरेको दाबी गरिएको छ । स्रोतका अनुसार प्रत्येक क्यासिनोबाट मासिक करिब तीन लाख रुपैयाँसम्म रकम असुल्ने गरिएको छ, जुन रकम “घुमुवा टोली” मार्फत संकलन गरिने गरेको बताइएको छ ।
क्यासिनो सञ्चालकहरूका अनुसार जिल्ला प्रहरी कार्यालय रूपन्देही र प्रदेश प्रहरी कार्यालयबाट छुट्टै–छुट्टै घुमुवा टोली परिचालन गरिएको छ । जिल्ला प्रहरीतर्फ असई (सहायक निरीक्षक) र प्रदेश प्रहरीतर्फ वरिष्ठ सईको नेतृत्वमा यी टोलीहरू सक्रिय छन् ।
“हामीले मासिक रकम बुझाउँछौं, तर त्यसपछि पनि शान्ति छैन,” एक क्यासिनो सञ्चालकले नाम नखुलाउने सर्तमा भने, “पैसा लिएर पनि बेला–बेलामा छापा हानेर दुःख दिने काम भइरहेको छ । यसले व्यवसाय नै असुरक्षित बनाएको छ ।”उनका अनुसार रकम बुझाउने मुख्य उद्देश्य प्रहरीको हस्तक्षेपबाट जोगिनु भए पनि व्यवहारमा त्यसको उल्टो भइरहेको छ । “मासिक रकम लिने र फेरि काम गरेको देखाउन छापा हान्ने — यो दोहोरो खेल हो,” उनले आरोप लगाए ।
नेपालको विद्यमान कानुनअनुसार नेपाली नागरिकले क्यासिनोमा जुवा खेल्न पाउँदैनन् । तर भैरहवाका केही क्यासिनोहरूमा भने नेपालीहरूलाई नियमित रूपमा प्रवेश गराइँदै आएको पाइएको छ । सञ्चालकहरूका अनुसार प्रहरीसँगको ‘समझदारी’पछि नेपाली ग्राहकहरूलाई सहज रूपमा प्रवेश गराइने गरिएको हो । “सबैलाई थाहा छ, तर कसैले बोल्दैन,” अर्का एक सञ्चालकले भने, “मासिक सेटिङ भएपछि सबै कुरा मिलाइन्छ ।”
यसैबीच बुधबार राति जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट डिएसपीको कमान्डमा खटिएको टोलीले मणिग्रामस्थित सिएमजी क्लब क्यासिनोमा छापा मारेको थियो । उक्त छापामा जुवा खेलिरहेको अवस्थामा केही नेपाली नागरिक पक्राउ परेका छन् ।
प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेहरूमा बुटवलका गोविन्द शर्मा, बासुदेव गौतम, कृष्ण गौतम र चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । त्यस्तै जुवा खेलाउने आरोपमा सर्लाहीका मुकेश कुमार श्रेष्ठ र ललितपुरका अजय केसीलाई पनि नियन्त्रणमा लिइएको छ । तर क्यासिनो सञ्चालकहरू भने यस्ता छापालाई ‘नाटक’को संज्ञा दिन्छन् । “कहिलेकाहीँ छापा हान्नु पर्छ, नत्र माथि रिपोर्ट देखाउन सकिँदैन,” एक सञ्चालकले दाबी गरे, “तर वास्तविकता के हो भने, सबै कुरा सेटिङमै चलिरहेको छ ।”
यस प्रकरणमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले भने हालसम्म कुनै प्रकारको मासिक रकम नलिएको क्यासिनो सञ्चालकहरूले बताएका छन् । उनीहरूका अनुसार मुख्य रूपमा जिल्ला प्रहरी र प्रदेश प्रहरीका केही अधिकारीहरू नै असुलीमा संलग्न रहेको आरोप छ । “सिडिओसँग हाम्रो कुनै लेनदेन छैन,” एक सञ्चालकले भने, “तर प्रहरीबाट भने दबाब आउने गरेको छ । घुमुवा टोली आएर रकम उठाउँछ ।”
नेपालमा क्यासिनो सञ्चालनसम्बन्धी नियमहरू स्पष्ट छन् । विदेशी पर्यटकलाई लक्षित गरी क्यासिनो सञ्चालन गर्न पाइने भए पनि नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको छ । तर भैरहवाको वास्तविकता भने फरक देखिएको छ । विशेषज्ञहरूका अनुसार यस्तो अवस्था रहिरहनु कानुनी शासनकै लागि चुनौती हो । “यदि आरोप सत्य हुन् भने यो गम्भीर संस्थागत भ्रष्टाचार हो,” एक सुरक्षा विश्लेषकले भने, “यसले राज्यप्रति जनविश्वास कमजोर बनाउँछ ।”
यस प्रकरणले सुरक्षा निकायभित्रकै आन्तरिक अनुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ । यदि क्यासिनो सञ्चालकहरूको दाबी सत्य हो भने, यो केवल स्थानीय स्तरको समस्या नभई संरचनागत विकृति हुन सक्छ । सरोकारवाला निकायहरूले यस विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ । नागरिक समाजका अगुवाहरूले पनि यस्तो गम्भीर आरोपको सत्यतथ्य सार्वजनिक गर्न दबाब दिएका छन् । भैरहवाका क्यासिनोहरूमा नेपाली प्रवेश, मासिक असुली, र छापा–कारबाहीको नाममा देखिएको दोहोरो व्यवहारले समग्र सुरक्षा संयन्त्रप्रति प्रश्न खडा गरेको छ । अब प्रश्न उठेको छ, कानुन केवल कागजमै सीमित हो ?