प्रहरीमाथि दुर्व्यवहार : उदण्ड जथ्या, राजनीतिक समूह नभएको प्रहरीको भनाइ

6.2k Shares

ललितपुर। महालक्ष्मी नगरपालिका(७, चाँगाथलीमा प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीमाथि हातपात गर्ने समूह ‘राजनीतिक’ नभएको र उदण्ड जथ्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी ललितपुरका एसएसपी होबिन्द्र बोगटीले ती व्यक्तिमाथि विभिन्न कोणबाट अनुसन्धान गर्दा कुनै दल वा समूहबाट परिचालित भएको कुरा नखुलेको बताए ।
नियमित गस्तीमा खटिएका प्रहरीमाथि अकस्मात आक्रमण हुँदा एक राउण्ड हवाई फायर भएको उनले बताए । हवाई फायरपछि उनीहरू भागेका थिए ।
उनीहरूलाई प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्नका लागि कुनै राजनीतिक दल वा समूहद्वारा परिचालन गरिएको हो वा होइन भन्ने कोणबाट विस्तृत अनुसन्धान हुँदा परिचालित नभएको निष्कर्षमा प्रहरी पुगेको बोगटीले बताए । उनीहरू लागुऔषध, मदिरा सेवन गरी अभद्र व्यवहार र गतिविधिमा संलग्न रहेको उनले बताए ।
प्रहरीले उक्त घटनामा मकवानपुर जिल्ला, मकवानपुर गढी गाउँपालिका–२ घर भएका  २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका –३ घर भएका २० वर्षीय रमेश शाही, दार्मा गाउँपालिका–३ घर भएका २० वर्षीय शंकर शाही र रुकुम सानोभेरी गाउँपालिका–२ का २२ वर्षीय राजु मगरलाई नियन्त्रणमा लिएको छ । उनीहरूविरुद्ध प्रहरी प्रतिवेदनका आधारमा सार्वजनिक शान्ति खलल गरेको कानूनी महलमा कारवाही हुने भएको छ ।

सम्बन्धित समाचार