गोदावरी, २५ पुस । गोदावरी खोला सरसफाई अभियानले अब टोल टोलमा सरसफाई अभियान सुरु गर्ने भएको छ ।
ललितपुरको गोदावरीमा आयोजित गोदावरी खोला सरसफाई १५०औं हप्ता पुगेका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानकी अभियन्ता बेबी राजभण्डरीले अब टोल टोल सरसफाई कार्यक्रम सुरु गर्ने घोषणा गरेकी हुन् ।
बागमती सरसफाई अभियानका अभियन्ता पूर्वराजदूत तथा पूर्वमुख्यसचिव लिलामणी पोखरेलले गोदावरी नगरलगायतको सहयोग पाएर गोदावरी खोला सरसफाई कार्यक्रम सफल भएको बताए । उनले भने, 'हामी अभियन्ताले राजनीतिक दलको चाही सहयोग पाएनौं । उनीहरुले हाम्रो अभियानलाई सहयोग गर्नुको साटो खिसिट्युरी गरेका छन् ।' अभियन्ता पौडेलले आउँदो निर्वाचनमा अभियानलाई खिसी गर्नेहरुलाई देखाइदिने बताए ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिका सरसफाई अभियानलाई सधै सहयोग गरेको र आउँदा दिनमा सहयोग गर्न तयार रहेको बताए । उनले भने, 'यो काम हाम्रो हो । अभियन्ताले हामीलाई सघाइरहेका छन् ।'
नगरकी उपमेयर मुना अधिकारीले खोला किनारमा नगरभन्दा बाहिरबाट आएर बंगुर, कुखुरा र हाँसलगायत पालेर फोहोर गरिरहेको बताइन् । उनले भनिन्, 'हामीले सूचना निकालेर हटाउन अनुरोध गरेका छौं । नहटाए कारवाही गछौं ।'
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले खोला किनारमा विभिन्न संघसंस्था र धर्मका नाममा भएका अतिक्रमण हटाएरै छोड्ने उद्घोष गरिन् । उनले भनिन्, 'खोलामा मिसिने ढल प्रशोधन गर्न धेरै बजेट र ठाउँ चाहिन्छ । हामी कम खर्च र ठाउँमा कसरी ढल प्रशोधन गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छौं ।'